चितवन। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजारमा बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयवासीलाई झुक्याएको आरोपमा विनोद सुन चाँदी पसलका सञ्चालक विनोद सुनारसहित ५ जनलाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिविआईको सहयोगमा अप्रेशन धनानन्द नाममा १८ दिनमा लुटेरा आफै मालिक आफै चोरलाई पक्राउ गर्न सफल भएको हो ।
सुनारले गत असार १ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट अज्ञात दुई जना पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाईकल चढी आई हतियार देखाई दुई करोड सत्र लाख चौबन्न हजार चार सय पन्ध्र रुपैयाँ बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले मुख्य योजनाकार सुनारसहित बिनोद सुन चाँदी पसलका मेनेजर (चोरी गर्न सहयोग गर्ने) कालिका नगरपालिका वडा नं. ०७ का विजय विश्वकर्मा, चोरी गर्ने व्यक्ति तनहुँ, म्याग्दी गापा वडा नं. ०७ का पुर्ण बहादुर विश्वकर्मा, चोरी गर्ने व्यक्ति बारा बारागढी नपा वडा नं. ०४ का पवन कुमार पासवान र विनोद सुन चाँदी पसलका संचालक विनोद सुनारको मिल्ने साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने) कालिका नपा, वडा नं. ६ अन्जना पुडासैनी केसीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको चितवनका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालको नेतृत्वमा जिल्लाकै अर्का प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारी , ईलाका प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक डा.हेम केसी सम्मिलित अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा सुनार स्वयंले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाइएको छ ।
चितवनका प्रहरी प्रमुख भावेश रिमालले बीमा रकम प्राप्त गर्नका लागि धिमिरेले योजनाबद्धरुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको भनिएको सामग्री सुनारकै स्थानिय मिल्ने साथी अन्जना पुडासैनी, केसीको घरबाट बरामद गरेको जानकारी दिए । पक्राउ परेका सबैलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारी सुरु भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार विनोद सुन चाँदी पसलका संचालक विनोद सुनार स्वमंले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
विनोद सुनारले लुटपाटको लागि पूर्ण बहादुर विश्वकर्मालाई जिम्मा दिएको र पूर्ण बहादुर विश्वकर्मा र पवन कुमार पासवानले रातिको समयमा मोटर साईकलमा आई लुटपाट गरेको र पसलका मेनेजर विजय विश्चकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको पुष्टी भएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ
पूर्ण बहादुर सवश्वकर्मा र पवन कुमार पासवानले चोरी गरी लगेको सुन गहनाहरु लुकाउनको लागि विनोदले बताए वमोजिम अन्जना पुडासैनी, केसीलाई दिएको र घटनाको दुई दिन पछी अन्जनाको घरमा गई विनोदले उक्त सुन गहनाहरु लिई गएको प्रहरीको अनुसन्धानमा उल्लेख छ ।