मोरङ। ग्रामथान गाउँपालिकाले आर्थिक अभावका कारण अर्को सूचना जारी नभएसम्मका लागि जनप्रतिनिधिहरूलाई प्रदान गरिँदै आएको सवारी सुविधा बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले आज जारी गरेको सूचनामा आन्तरिक राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको, खोला ठेक्का हालसम्म नलागेको तथा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व अपेक्षित रूपमा प्राप्त नभएकाले इन्धन शीर्षकमा विनियोजित बजेट सकिएको स्पष्ट गरिएको छ। यस्तो परिस्थितिमा वैकल्पिक व्यवस्था नभएसम्म सवारी सुविधा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका उपाध्यक्ष श्रीमती गुणावती देवी थारु, प्रमुख प्रशासकीय अधिकृत श्री विनोद कुमार भण्डारी, र अध्यक्ष ननो नारायण माझीलाई यस निर्णयको जानकारी गराइएको छ।
गाउँपालिकाको आर्थिक व्यवस्थापन सुदृढ नभएसम्म यो निर्णय लागू हुने जनाइएको छ। यसले जनप्रतिनिधिहरूको दैनिक कार्य सम्पादनमा केही असहजता ल्याउन सक्ने भए पनि वर्तमान परिस्थितिमा आवश्यक निर्णय लिइएको गाउँपालिकाले स्पष्ट पारेको छ।