झापा–सुनसरीका करिब दुई सयभन्दा बढी व्यक्तिको ७ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेर इटहरी उपमहानगरपालिकामा कार्यरत छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेल फरार भएकी छन्।
उनविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परिसकेको छ। प्रहरीका अनुसार उनी हाल मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन छिन्।
झापामा कार्यरत रहँदा पनि धेरै मानिसहरूको पैसा बिगारेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए। “हामीकहाँ पनि उजुरी परेको छ। तर उहाँ फरार हुनुहुन्छ। खोजी कार्य जारी छ,” उनले भने।
लुइँटेलबाट ठगिनेमा सेवाग्राही, जनप्रतिनिधि र सहकर्मी कर्मचारीसमेत रहेका छन्।
सोनापुर, इटहरी निवासी लुइँटेल ६३ दिनदेखि गयल रहेको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले जानकारी दिए। “हावा नचली पात हल्लिँदैन। सस्मिताजीले धेरै मानिसहरूको पैसा बिगारेर फरार हुनुहुन्छ,” उनले भने।
लुइँटेल झापाको अर्जुनधारा नगरपालिकाबाट २०८१ भदौ ६ गते सरुवा भई इटहरी उपमहानगरपालिकामा कार्यरत भएकी थिइन्। काम गर्ने क्रममा उनले घरव्यवहारको नाममा जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा अन्य कर्मचारीहरूसँग व्यक्तिगत रूपमा १ लाखदेखि २४ लाख रुपैयाँसम्म सापटी लिएको बताइएको छ।
इलाका प्रहरी कार्यालय इटहरीमा ४० जना भन्दा बढीले उनलाई २ करोडभन्दा बढी रकम नतिरेको भन्दै उजुरी दिएका छन्। विकास पौडेल, बिपिन भट्टराई र मोहन दङ्गालसहित अन्य पीडितहरूले पटक–पटक तिर्न दिएको रकम फिर्ता नपाएको र सम्पर्कविहीन बनेको आरोप लगाएका छन्।
यता, झापामा पनि दर्जनौं व्यक्तिहरूले उजुरी दिंदै सस्मिता लुइँटेलले ५ करोडभन्दा बढी रकम अपचलन गरेको विवरण दिएका छन्।
प्रहरीले लुइँटेलको खोजी कार्य तीव्र पारिएको जनाएको छ।