इलाम। इलामको सूर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले साढे ३२ लाख रुपैयाँ बराबरको चाँदीका गरगहना बरामद गरेको छ।
सशस्त्र प्रहरी हवल्दार गणेश चौधरीको कमान्डमा खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुई भारतीय नागरिकलाई जाँच गर्ने क्रममा उक्त गरगहना फेला पारेको हो। पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेश, कुल्लु जिल्ला, परगनु बस्ने ३८ वर्षीय अभिनाश बोध र उत्तर प्रदेश, वजौरा तहसिल बस्ने ३५ वर्षीय रवि कुमार रहेका छन्।
बरामद गरगहनाको परीक्षण सुनचाँदी व्यवसायी संघ बिर्तामोडमा गरिएको थियो। परीक्षणबाट ती सम्पूर्ण सामग्री शुद्ध चाँदी भएको पुष्टि भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
बरामद गरगहना र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
