उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि विराट अस्पताल तनाबग्रस्त

विराटनगर। मोरङको बूढीगंगा गाउँपालिका–२, टंकिसिनवारीस्थित विराट शिक्षण अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। 

उपचारमा चिकित्सकले गम्भीर लापरबाही गर्दा कानेपोखरी गाउँपालिका–२ की ३३ वर्षीया जमुना पौडेलको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । 

EPIC EPIC EPIC EPIC EPIC

मृतकका आफन्तका अनुसार, पौडेललाई गत साउन १४ गते सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको थियो । सोही दिन शल्यक्रियामार्फत् उनले दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन् । नवजात शिशुको स्वास्थ्य सामान्य रहेकाले साउन २० गते डिस्चार्ज गरिएको थियो, तर सुत्केरी जमुनाको स्वास्थ्यमा भने सुधार आएन ।

शल्यक्रियापछि उनलाई शुरूमा पोस्ट अपरेटिभ वार्डमा सारिएको थियो । तर, स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भयो ।

मृतकका आफन्तले शल्यक्रियाकै क्रममा चिकित्सकको गल्तीका कारण अत्यधिक रक्तश्राव भएको र समयमै उचित उपचार नपाउँदा जमुनाको ज्यान गएको आरोप लगाएका छन् । 

‘स्वस्थ मान्छेलाई अस्पताल ल्यायौं, शल्यक्रिया सफल भयो भनियो, तर आज उहाँको ज्यानै गयो,’ एक आफन्तले भने, ‘यो सरासर डाक्टरको लापरवाही हो । दोषीलाई कारबाही हुनुपर्छ ।’

यता, अस्पताल प्रशासनले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ । प्रशासनका तर्फबाट छलफलमा सहभागी प्रमेशराज देवकोटाले शल्यक्रियापछि अत्यधिक रक्तश्राव  भएका कारण बिरामीको स्वास्थ्य जटिल बनेको र बचाउन सबै प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको बताए । 

‘शल्यक्रियापछि बिरामीमा अत्यधिक रक्तश्राव देखियो । चिकित्सकको टोलीले उहाँलाई बचाउन अन्तिम समयसम्म प्रयास गरेको हो, तर दुर्भाग्यवश हामी सफल हुन सकेनौं,’ देवकोटाले पीडित पक्षसँगको छलफलमा भने ।

आक्रोशित आफन्तहरूले लापरबाही गर्ने चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र जेठी छोरीको सम्पूर्ण शैक्षिक खर्च अस्पतालले ब्यहोर्नुपर्ने माग राखेका छन् । उनीहरूले १० लाख रूपैयाँ क्षतिपूर्तिको मागसमेत गरेका छन् । 

बिहीबार दिउँसोदेखि अस्पताल प्रशासन र पीडित पक्षबीच वार्ता भइरहेको छ । वार्तामा कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि र पीडितका आफन्तहरू सहभागी छन् । 

माग पूरा नभएसम्म शव नउठाउने आफन्तले अडान लिएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *