काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले मधाधिवेशनमा मत र मन दुवै पाएको दाबी गरिरहँदा पार्टीभित्र भने उनको भूमिकामाथि प्रश्न उठ्न थालेका छन्। उपमहासचिव पदमा निर्वाचित भइसकेपछि पनि गुटीय गतिविधिबाट स्पष्ट दूरी नदेखिएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।
यसै सन्दर्भमा एमाले केन्द्रीय सदस्य तुलसी न्यौपानेले भट्टराईलाई हार्दिक बधाई दिँदै ५ गते सम्पन्न गुटीय भेलाप्रति असहमति जनाउनुभएको छ। उहाँले महाधिवेशनले नीति र नेतृत्व दुवै टुंग्याइसकेको अवस्थामा यस्ता भेलाले पार्टी एकतामा नकारात्मक सन्देश जाने स्पष्ट चेतावनी दिनुभएको छ।न्यौपानेले पार्टीका मुद्दा जारी छन् भन्ने नाममा समानान्तर गतिविधि उचित नहुने धारणा राख्दै जिम्मेवार पदमा पुगेका नेताहरूले अझ बढी संयम र परिपक्वता देखाउनुपर्ने बताएका छन्।
पार्टी एकता सुदृढ गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा व्यक्त गरिए पनि व्यवहारमा भने त्यसको परीक्षण सुरु भइसकेको विश्लेषकहरूको भनाइ छ। उपमहासचिव जस्तो जिम्मेवार पदमा पुगेपछि योगेश भट्टराईले शब्दभन्दा कामबाट एकताको प्रमाण दिनुपर्ने दबाब बढ्दै गएको छ।




















