मोरङ — मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी नगरपालिका–३, पुरानो मङ्गलबारेमा बिहीबार राति ११ः१५ बजे दुर्घटना भएको हो। पश्चिमतर्फ जाँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई पूर्वबाट आउँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
घटनामा झापा, दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बू गम्भीर घाइते भएका थिए। प्रारम्भमा उनलाई उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा उपचार गरिए पनि अवस्था जटिल भएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान १ः३५ बजे उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार ट्याङ्करमा चिनी मिलबाट निस्किएको छुवा लोड गरिएको थियो। ट्याङ्कर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनास्थल नजिकैको सिसी क्यामेरा फुटेजमा मोटरसाइकल र ट्याङ्कर एकआपसमा ठोक्किएको देखिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।



















