काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारको अडानका कारण महानगरका कर्मचारीले तीन महिनादेखि तलब नपाएको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तोष व्यक्त गर्दै अबको एक हप्ताभित्र समस्या समाधान नभए कडा कदम उठाउने चेतावनी दिएका छन्।
प्रमुख शाहले भनेका छन्, “काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाएका छैनन्, सरकारको दम्भका कारण! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन, तर अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडिदिन्छु! त्यसपछि हेरौं तिमीहरूको के–के तन्त्र हो!”
उनको यस अभिव्यक्तिपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। कतिपयले बालेनलाई कर्मचारीको पक्षमा दृढ अडान लिन सक्ने साहसी नेता भनेका छन्, भने कतिपयले उनको भाषा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।