झापा – होली पर्वको अवसर पारेर कचनकवल गाउँपालिकाले परम्परागत कुमाले पेशालाई जगेर्ना गर्दै स्थानीय मानव विकास सूचकलाई माथि उठाउने उद्देश्यले ६ कुमाले परिवारलाई निशुल्क इलेक्ट्रोनिक चर्खा हस्तान्तरण गरेको छ।
स्थानीय कुमाले समुदाय वर्षौंदेखि माटोका भाडाकुँडा निर्माण गर्दै आएका छन्। तर, आधुनिकताको प्रभावले नयाँ पुस्ता यो पेशाबाट विमुख हुँदै गएकाले गाउँपालिकाले प्रविधिमैत्री उपकरण उपलब्ध गराएको हो।
कचनकवल वडा नं. ७ का ६ कुमाले परिवारलाई गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराई, वडाध्यक्ष भरत राजवंशी, वडाध्यक्ष चिन्तामणी खरेल तथा समाजसेवी हरि सिग्देलको उपस्थितिमा आधुनिक चर्खा हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका अनुसार, यी आधुनिक चर्खाले उत्पादन क्षमतामा वृद्धि गर्दै गुणस्तरीय माटोका सामग्री उत्पादनमा टेवा पुग्नेछ। साथै, हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंह राजवंशीले परम्परागत पेशालाई समयानुकूल प्रविधिसँग जोड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने लक्ष्य रहेको बताए।
५० वर्षभन्दा पुरानो परम्परागत पेशालाई प्रविधिसँग जोड्दै संरक्षण गर्ने स्थानीय सरकारको प्रयासप्रति कुमाले समुदायले खुशी व्यक्त गरेका छन्। स्थानीय सरकारले परम्परागत पेशालाई प्रविधिसँग जोडेर संरक्षण गर्न थालेपछि यसले स्थानीय जनताको आर्थिक स्तर उकास्न मद्दत गर्ने विश्वास गरिएको छ।
स्थानीयवासीका अनुसार, यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिएमा युवा पुस्ता परम्परागत सीपलाई व्यवसायिक रूपमा आत्मसात गर्न प्रेरित हुनेछन्। गाउँपालिकाले आगामी वर्ष थप कुमाले परिवारलाई प्रविधिमैत्री उपकरण वितरण गर्ने योजना बनाएको छ।