बनियानी। झापाको कचनकवल गाउँपालिका–६ स्थित बालुबाडी–बनियानी सडकखण्डमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।
बिहान करिब ६ः३० बजे बालुबाडीबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ७९६७ नम्बरको पल्सर मोटरसाइकलले कचनकवल–६ विशालबस्तीका ६४ वर्षीय गणेश भट्टराईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकल कचनकवल–७ का वडा सदस्य शेरबहादुर लिम्बूका १५ वर्षीय छोरा स्मरण लिम्बूले चलाइरहेका थिए।
दुर्घटनामा घाइते भट्टराईको निधार र दाहिने खुट्टामा चोट लागेको छ। यस्तै मोटरसाइकल चालक स्मरण लिम्बूको दुबै हात, खुट्टा र अनुहारमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको बनियानी स्वास्थ्य उपचार केन्द्रले जानकारी दिएको छ।
घटनाको खबर बिहान ६ः४० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी सहायक निरीक्षक अनिल राजबंशीको नेतृत्वमा प्रहरी टोली ६ः४५ बजे घटनास्थल पुगेको थियो। चिकित्सकको सिफारिसमा दुवै घाइतेलाई थप उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पठाइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बनियानीमा राखिएको छ।



















