- बनियानी
झापाको कचनकवल गाउँपालिकामा अटिज्म र मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) भएका बालबालिकाका अभिभावकलाई लक्षित गर्दै हेरचाह सम्बन्धी दुई दिने सीप विकास तालिम सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश, कचनकवल गाउँपालिका, र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम (डीपीआरपी) अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
तालिममा फिजियोथेरापिस्ट डा. रविन देवान प्रमुख प्रशिक्षक रहेका थिए। तालिमको पहिलो दिन मस्तिष्क पक्षघात र दोस्रो दिन अटिज्म सम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। अभिभावकहरूलाई अपाङ्गता भएका बालबालिकाको हेरचाह गर्न आवश्यक सीप सिकाउने तथा उनीहरूको दैनिक जीवनलाई सहज बनाउन यो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।
तालिमका प्रमुख उद्देश्यहरू अपाङ्गता भएका बालबालिकालाई घरमै आधारित शिक्षा दिने तरिकाबारे जानकारी गराउने, विशेष अपाङ्गता भएका बालबालिकाको आवश्यकताअनुसार पुनःस्थापनाका सम्भावनाहरू पहिचान गर्ने, र समावेशी अभ्यासलाई प्रवर्द्धन गर्ने रहेका थिए। तालिममा बाल विकासका चरणहरू, उचित पोजिसनिङ (Positioning) का विधिहरू, खुवाउने तरिका, दैनिक क्रियाकलाप, थेरापी इन्टरभेन्सन (Therapy Intervention), विशेष शिक्षा तथा सहयोगी सामग्रीको प्रयोग, र पुनःस्थापनाका सम्भावनासम्बन्धी जानकारी प्रदान गरिएको थियो।
तालिमपछि सहभागी अभिभावकहरूले सिकेका सीपहरू प्रत्यक्ष रूपमा बालबालिकाको हेरचाहमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ। यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा मात्र होइन, उनीहरूको आत्मनिर्भरता बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
स्थानीय सरकार र सरोकारवालाहरूको सहकार्यमा सञ्चालित यो कार्यक्रम अपाङ्गता भएका बालबालिकाका लागि प्रभावकारी पुनःस्थापनाका अवसरहरू सिर्जना गर्न अभिप्रेरित छ। तालिमलाई निरन्तरता दिनुका साथै समुदायस्तरमा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरोकारवाला निकायहरू प्रतिबद्ध रहेको कचनकवल गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको छ।



















