Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि त्रिपक्षीय सम्झौता

कचनकवल। झापाको कचनकवल गाउँपालिका, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र करुणा फाउण्डेसन नेपालबीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता पत्रमा कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौतामा ‘कार्यक्रमको सञ्चालन कचनकवल गाउँपालिकाको स्वामित्वमा रहनेछ र यसको अवधि २०८१ सालको श्रावण १ गतेदेखि २०८४ सालको असार मसान्तसम्म हुनेछ । प्रारम्भिक दुई वर्षको अवधिमा साझेदार संस्था, मन्त्रालय र पालिकाबीच लागत साझेदारी हुने छ भने तेस्रो वर्षमा मात्र पालिकाले मन्त्रालयसँग लागत साझेदारी गर्नेछ । कार्यक्रमको बजेट र लेखा नेपाल सरकारको प्रचलित कानून अनुसार व्यवस्थापन गरिनेछ’ उल्लेख छ । 

EPIC EPIC

कार्यक्रमले जन्मजात अपाङ्गता रोकथाम, जन्मपछि हुने अपाङ्गताको न्यूनीकरण, अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिकीरण र सशक्तिकरणमा विशेष जोड दिनेछ । यसका साथै, अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण र सशक्तीकरणका लागि थप अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। सम्झौतामा विवाद समाधान र सम्झौतामा संशोधन गर्नका लागि प्रचलित कानून र निर्देशनको पालना गर्ने व्यवस्था गरिएको छ । 

करुणा फाउण्डेसन नेपालका व्यवस्थापक सन्तोष घिमिरेले कार्यक्रमको उद्देश्य जन्मजात अपाङ्गता रोकथाम र जन्मपछि हुनसक्ने अपाङ्गताको न्यूनीकरण गर्नु रहेको बताएका छन् । उनले समाजमा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न कारणले अपहेलित हुनु परेकोले यो कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

यस कार्यक्रमको सुरुवात २०८१ सालको श्रावण १ गतेबाट हुने र यो कोशी प्रदेशका १३७ वटै पालिकामा लागू हुनेछ । कचनकवल गाउँपालिकामा कार्यक्रमको कार्यान्वयन, पुनःस्थापना सेवा र अपाङ्गता मैत्री सुविधाका विषयमा विभिन्न दिशानिर्देशहरू राखिएका छन् । सम्झौतामा कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुखहरू, फाउण्डेसनका प्रतिनिधिहरू, अपाङ्गता भएका व्यक्तिहरूको समूहका प्रतिनिधिहरू र अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *