कचनकवल। कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा “बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनीकरण” र “प्राङ्गारिक जीवाणु मल प्रवर्द्धन” विषयक अभिभावक र कृषक लक्षित एक दिने गुरु कृषि तालिम सम्पन्न भएको छ।
जलवायु परिवर्तनका कारण बिग्रिएको माटो सुधार गर्दै उत्पादन वृद्धि र कृषि लागत घटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
तालिममा रासायनिक मलको सट्टा जैविक (जीवाणु) मल प्रयोगलाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिइएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले दिगो कृषि विकास र कृषकहरूको स्वास्थ्य सुरक्षाका लागि जैविक मल प्रयोगलाई अनिवार्य रूपमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले उत्पादन वृद्धि मात्र होइन, माटोको जीवन शक्ति जोगाउन र नयाँ पुस्तालाई सुरक्षित वातावरण प्रदान गर्न जैविक खेतीलाई प्रोत्साहन गर्नु अत्यावश्यक छ।” अध्यक्ष राजवंशीले गाउँपालिकाले कृषकहरूलाई आवश्यक सहयोग र प्रविधि हस्तान्तरणमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाउनुभयो।
विशेष अतिथि तथा उपाध्यक्ष नवराज भट्टराईले रासायनिक मलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले अब अनिवार्य रूपमा जैविक मल प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले दिगो कृषि प्रणाली निर्माणका लागि जैविक मल अपरिहार्य रहेको पनि बताउनुभयो।
महिला जनचेतना अभियानमार्फत सञ्चालित कार्यक्रममा कचनकवल–१ का कृषकहरूलाई जैविक खेतीप्रति सचेत गराइएको थियो। अभियानले स्थानीय तहमा रोजगारी सिर्जना गर्नुका साथै रासायनिक मलको प्रयोग घटाएर विभिन्न रोगहरूबाट मानव स्वास्थ्य जोगाउने अपेक्षा गरिएको छ। उपाध्यक्ष भट्टराईले विषादी विस्थापनका लागि गाउँपालिकाले ठोस कार्यक्रम ल्याउने तयारी भइरहेको र आगामी दिनहरूमा जैविक मल प्रवर्द्धन तथा विषादी न्यूनीकरणमा केन्द्रित प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रमको आयोजना महिला जनचेतना केन्द्र काँकडभिट्टाले गरेको थियो भने सञ्चालन संस्थाकी संस्थापक अध्यक्ष राधा प्रधानले गर्नुभएको थियो। कार्यक्रममा ३२ जना अगुवा कृषकहरूलाई २५ केजीका दरले जैविक मल निःशुल्क वितरण गरिएको थियो। साथै जरामा प्रयोग हुने मल र पातमा छर्किने मल पनि लिटरका दरले वितरण गरिएको थियो।
यस्तै, राधा प्रधानले बालविवाह, बालदुर्व्यवहार, बालअधिकार र सम्बन्धित कानुनी प्रावधानहरूबारे जानकारी गराउँदै बालविवाहका असर र न्यूनीकरणका उपायहरूबारे समेत सहभागीहरूलाई सचेत गराउनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल, योजना अधिकृत केशव मैनाली, कार्यपालिका सदस्य उमाशंकर गणेशलागयतको सहभागीता रहेको थियो।