बुद्धशान्ती| शुक्रबार साँझ बुद्धशान्तिका प्राय सबै केन्द्रमा निर्धारित समयमै निर्वाचन सम्पन्न भएको थियो।
बुद्धआदर्श बुधबारे र गाउँपालिका परिसर स्थलमा भने मतदान मा थप केही समय लागेको थियो।
निर्वाचन अधिकृतको कार्यलयले एक साता अघिबाटै तामझामका साथ तयारी गरेपनि मतगणनामा ढिलासुस्ती गरेको छ।
मतदान सकिएको केही समयमै सबै केन्द्रका मत-बाकस गणना स्थलमा आइपुगेपनी त्यसलाई बुझ्न ३ घन्टा भन्दा बढी लागेको थियो।
शुक्रबार राति १२ बजेबाट गणना शुरु गर्ने भनिएपनी सर्वपक्षीय बैठक बस्नै सकेन।
निर्णय सुन्न पालिका परिसरमा अबेरसम्म बसेका मतदाताहरु रित्तो हात फर्कनुपरेको थियो।
शनिवार बिहान ७ बजेबाट गणना शुरु हुने भनिएतापनी कुर्सी ब्यवस्थापन नहुँदा गणना शुरु हुन सकेन।
राजनीतिक दलका प्रतिनिधिले, गणना गर्ने एकातिर प्रतिनिधि बस्ने अर्कैतिर भएको भन्दै आपत्ती जनाएपछि कार्यलयले पुनः त्यसको ब्यवस्थापन गरेको थियो।
लामो कसरतपछि शनिवार बिहान १० बजेबाट एक स्थानमा मतगणना शुरु भएको थियो।
तर गणना शुरु भएको झन्डै १२ घन्टा पुग्नै लाग्दा ७ प्रतिशत मात्रै मतगणना भएको छ।शनिबार अपरान्हबाट २ ठाउँमा मतगणना भएपनी परिणाममा खासै सुधार देखिएको छैन।
कुल २५२८४ मत खसेको मत मध्ये यो समाचार तयार पार्दा १८०० हाराहारी मत गणना भएको छ।यसरी हेर्दा पुरै मतगणना गर्न झन्डै एक साता लाग्ने देखिन्छ।
बुद्धशान्ति ६ का सुरज खनाल यसै बिषयमा कटाक्ष गर्दै सामाजिक संजालमा लेख्छन्, “यस्तैपारामा ४५०० मतदाता भएको वडाको गणना सक्न ३ दिन अनि पालिकाकै गणना सक्नलाई १५ दिन लाग्ने रहेछ।”
पालिका परिसरमा मत परिणाम सुन्न शनिबार राती अबेरसम्म बसेका बुद्धशान्ति १ का सुनिल घिमिरेले निर्वाचन कार्यलय तामझाम धेरै काम थोरै गरेको आरोप लगाए।
उनी भन्छन्, ‘बाहिर बाँसको घेरा,भित्र काँडे तार तेश्रो तल्लामा गणना तर परिणाम अति नै सुस्त तामझाम चाहिँ राम्रै देखियो काम त बोल्नै परेन नि मैले’।
यस बिषयमा हामिले सहायक निर्वाचन अधिकृत युवराज कट्टेलसँग कुराकानी गर्दा, गठबन्धनका मत गन्न स्वभाविक रुपमा समय लाग्ने र अहिले बिहानबाट ३ स्थानमा गणना शुरु गर्ने जानकारी दिए।
‘अलगअलग चिन्हमा मत भएकाले गन्नलाई समय लाग्नु स्वभाविक हो,अहिले बिहानबाट तीन स्थानाम हामी गणना गर्दैछौं अब चाडैं हुन्छ’ उनले भने।
अति संवेदनशिल मानिने मतगणनालाई कार्यलय, कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले गम्भीरता पुर्वक लिन जरुरी देखिन्छ।
५ बर्षका लागि चुनेर पठाएका जनप्रतिनिधिहरुको नाम थाहा पाउन मतदाताहरुले कति दिन कुर्नुपर्ने हो?


















