झापा – उदयपुरको कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा सोमबार अपराह्न भएको सवारी दुर्घटनामा झापा दमक नगरपालिका कानुन अधिकृत माधव बस्नेतको ज्यान गएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो गाडी सोमबार दिउँसो ४:१० बजे अनियन्त्रित भई सडक छेउमा रहेको फलामको ट्रस्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएका माधव बस्नेतलाई प्रादेशिक अस्पताल कटारीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा सोही स्कारपियोमा सवार झापा दमक नगरपालिका–९ निवासी ३८ वर्षीय चालक देवेन्द्र तामाङ, दमक–१० निवासी ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ निवासी ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ निवासी ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ निवासी ३८ वर्षीय नबिन खतिवडा तथा गौरादह नगरपालिका–१ निवासी ५४ वर्षीय भुवन दाहाल रहेका छन्। उनीहरू सबैको प्रादेशिक अस्पताल कटारी, उदयपुरमा उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक कमल बजगाईंको नेतृत्वमा पुगेको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।