कमल, १६ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो ।
बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।

उपाधिसँगै विजेता टोलि झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित सिवाकोटीले प्राप्त गरेका थिए ।
आज सम्पन्न प्रतियोगिताको समापन समारोह कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई, वडाध्यक्षहरु केदार कटुवाल, तारानाथ न्यौपाने, नरप्रसाद दंगाल, प्रेम बहादुर राई, डम्बर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपति राईको समेत उपस्थिति रहेको थियो ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहेको थियो ।