काठमाडौँ । लोखर्के र काग जुध्दा देशकै प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा विद्युत् आपूर्ति बन्द भएको छ । बुधबार सिंहदरबारमा विद्युत आपूर्ति गर्ने फिडर लाइनमा काग र लोखर्के जुधेका कारण तार जोडिएर विद्युत अवरुद्ध भएको हो ।
बुधबार दिउँसो उक्त क्षेत्रमा लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । ‘त्यहाँको तारमा काग र लोखर्के जुध्दा दुई तार जोडिएर विद्युत अवरुद्ध भएको हो ।’, प्रवक्ता ढकालले सिधाकुरासँग भने, ‘हामीले मरेको अवस्थामा भेटिएका काग र लोखर्केलाई निकालेर विद्युत सुचारु गर्ने प्रयासमा छौँ ।’
त्यस्तै उनले सिंहदरबारका अधिकांश कार्यालयका बत्ती गएपनि प्रधानमन्त्री कार्यालयमा भने विद्युत अवरुद्ध नभएको जनाए । प्रधानमन्त्री कार्यालयमा छुट्टै फिडर भएका कारण विद्युत् अवरुद्ध नभएको उनको भनाई छ ।
केही समयदेखि सिंहदरबारमा बत्ती जाँदा सबै कामहरु प्रभावित बनेका छन् ।