काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत फागुन १६ गतेदेखि सुरु गरेको रुबेला–दादुराविरुद्धको खोप कार्यक्रममा दुई लाख १२ हजार तीन सय ६९ बालबालिकाले खोप लगाएका छन् ।
बत्तिसवटै वडामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गरेको कामपाले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ मा कार्यक्रम सञ्चालन भएको थियो । दोस्रो चरणमा वडा नं ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा नियमित खोप कार्यक्रम सञ्चालन गरिएको कामपले जनाएको छ ।
यही चैत २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दुई लाख बढी बालबालिकाले खोप लगाएका कामपाको खोप शाखाका सम्पर्क व्यक्ति मैयाँ सैंजुले जानकारी दिइन् । कामपाका अनुसार स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका दुई लाख ३६ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य भए पनि विद्यालयबाहिर रहेका केही बालबालिका नआएकाले लक्ष्यअनुरुप खोप लगाउन नसकिएको सैँजुले बताइन् ।
रुबेला–दादुराविरुद्धको खोप शिशु जन्मेको नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहे पनि सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएकाले अभियानका रुपमा विभिन्न रोगविरुद्धको खोप अभियान सञ्चालन गरिएको सम्पर्क व्यक्ति सैँजुले बताइन् ।
आर्थिक वर्ष २०७२–७३ र २०७६–७७ मा पनि यो अभियान चलाइएको थियो । २०७६–७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो । यससँगै नेपालमा फैलिएको कोरोना महामारीका कारण अभियान प्रभावित बनेको थियो । सरकारले नेपालले २०२६ सम्ममा रुबेला–दादुरा निवारण गर्ने प्रतिबद्धता गरेको छ ।