फूटपाथमा व्यापार गरी गुजारा गर्ने गरीब तथा निमुखालाई लखेटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले तीन दिनदेखि उभिएर धर्ना दिइरहेका छन् ।
राष्ट्रिय सभागृहमा मंगलबार दिउँसो १ बजेदेखि शुरू भएको धर्ना शुक्रवार साँझ ७७ घण्टा पुग्दैछ । यति लामो समय धर्ना दिँदा पनि नगर प्रमुख बालेन साहले चासो नदिएपछि थप ४८ घण्टा यसैगरी धर्नालाई निरन्तरता दिने उनीहरूको तयारी छ । सडकमा व्यापार गरेर जीविका चलाउने गरीबमाथि अत्याचार गरिएकाले फरक खालको आन्दोलन गर्नुपरेको अभियन्ताले बताए ।
कोभिड संक्रमणका बेला ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरेका ‘ई’ले यो आन्दोलनको अगुवाइ गरिरहेका हुन् । खाना खाने र शौचालय जाने समयबाहेक उनीहरू चौबीसै घण्टा उभिने गरेका छन् ।
धर्नामा ईसँगै प्रवीण काफ्ले र चाउ न्यौपाने पनि छन् ।काठमाडौं महानगरपालिकाको कार्यालय समेत रहेकाले उनीहरूले धर्नाका लागि सभागृह छानेका हुन् । लामो समय उभिएर धर्ना दिँदा उनीहरूको खुट्टा सुन्निएको छ ।