भद्रपुर, १९ पुस । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर-७२ (U901) जहाज शुक्रबार राति भद्रपुर (चन्द्रगढी) विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ। राति करिब २१:१० बजेको समयमा अवतरण गर्ने क्रममा जहाज रनवेको पूर्वी तर्फको ‘ओभर रन’ भई धावनमार्गबाट करिब ३०० मिटर बाहिर गएर घाँसे मैदानमा भासिएको हो। जहाजमा ५१ जना यात्री र चालक दलका ४ सदस्य तथा १ इन्जिनियर गरी कुल ५६ जना सवार थिए।
काठमाडौंबाट २०:२३ बजे उडेको उक्त जहाज अवतरणका क्रममा रनवे छाडेर पुर्वतर्फ भासिएपछि विमानस्थलमा केही समय तनाव उत्पन्न भएको थियो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (प्रउ) राजन लिम्बुको नेतृत्वमा ७० जनाको सुरक्षा टोली उद्धारका लागि खटिएको थियो। सुरक्षाकर्मी र विमानस्थल कर्मचारीको सक्रियतामा विमानमा सवार सबै ५६ जनालाई तत्काल बाहिर निकालिएको छ। विमानमा प्राविधिक क्षति पुगे पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
उद्धार गरिएकामध्ये केही यात्री र चालक दलका सदस्य सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा सह-चालक (को-पाइलट) सुशान्त श्रेष्ठसहित ७ जना रहेका छन्। उनीहरू सबैको हाल भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र केही उपचारपछि डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ।
घाइतेहरूको नामावली:
१. सबिन जोगी (४० वर्ष): भद्रपुर-१०, झापा (छाती र ढाड दुखेको, अवस्था सामान्य)
२. प्रेसीषा अधिकारी (२० वर्ष): बिर्तामोड-७, झापा (बायाँ खुट्टा सुन्निएको, अवस्था सामान्य)
३. सुमित्रा जोगी (४२ वर्ष): बिर्तामोड-१, झापा (बायाँ खुट्टा दुखेको, अवस्था सामान्य)
४. कमल प्रसाद कटुवाल (२८ वर्ष): दमक-१, झापा (दाहिने खुट्टामा सामान्य चोट, डिस्चार्ज भइसकेको)
५. मुना घतानी (४० वर्ष): काठमाडौँ-१६ (टाउको दुख्ने र चक्कर लाग्ने समस्या, अवस्था सामान्य)
६. प्रिया घतानी (१६ वर्ष): काठमाडौँ-१६ (दाहिने घुँडामा चोट, अवस्था सामान्य)
७. सुशान्त श्रेष्ठ (२४ वर्ष): ललितपुर-४ (को-पाइलट – अनुहार र टाउकोमा चोट, अवस्था सामान्य)
जहाज रनवेबाट किन बाहिर गयो भन्नेबारे प्राविधिक अनुसन्धान सुरु गरिएको छ। रातिको समयमा भएको यो घटनापछि विमानस्थलको उडान सेवा प्रभावित भएको छ भने थप विवरणका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन गरिरहेको छ।



















