कचनकवल। शुक्रबार साँझ झापा कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा विषालु सर्पदंशबाट एक बिरामीको ज्यान जोगाइएको छ। उनलाई कोब्राले डसेके मेडिकल अफिसर डा. दिपेन राजवंशीले जानकारी दिए। उनका अनुसार यो आर्थिक वर्ष २०८१/८२ को पहिलो विषालु सर्पदंशको घटना हो।
भारत बिहार राज्यको डिगलबैंक निवासी ४० वर्षीय अजय हसदा शुक्रबार साँझ करिब ७ बजे मकैबारीमा काम गरिरहेका थिए। खेतमा काम गर्दै गर्दा केहि चिजले टोकेको महसुस गरे पनि सुरुवातमा उनले बेवास्ता गरे। तर घर फर्किएर खाना खान बस्दा चक्कर लागेपछि सर्पले टोकेको आशंका गरिएको थियो।
परिवारले तत्कालै उनलाई नजिकैका धामीकहाँ लगे जहाँ धामीले ‘अविषालु सर्पले टोकेको, आत्तिनु पर्दैन’ भन्दै घर फर्काएर आराम गर्न सल्लाह दिएका थिए। तर झनै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई राति करिब ११:३० बजेतिर सर्पदंश उपचार केन्द्र बनियानी ल्याइएको थियो।
उपचारमा संलग्न डा. दिपेन राजवंशीका अनुसार अस्पताल ल्याउँदा बिरामीको अवस्था अत्यन्त गम्भीर थियो। “रक्तचाप निकै कम थियो, सास फेर्न गाह्रो भइसकेको थियो। तुरुन्तै एन्टिस्नेक भेनोम सुरु गर्यौँ र १० भाइलसम्म प्रयोग गर्नुपर्यो,” डा. राजवंशीले जानकारी दिए।
उनका अनुसार हसदाको स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ। “यस अवस्थामा पनि चार घण्टा टिक्न सक्नु चमत्कारसरह हो। सामान्यतया यस्तो अवस्थाले एक घण्टा पनि धान्न गाह्रो हुन्छ” उनले भने।
यस उपचारमा डा. दिपेन राजवंशीसहित सिएमए नवाज नुरी, एएनएम अरुना कोइराला र स्वास्थ्य सहायक उमा अर्याल खटिएका थिए।
सर्पदंश केन्द्रका अनुसार बिरामीलाई अहिले पनि २४ घण्टाको निगरानीमा राखिएको छ। स्वास्थ्यमा थप सुधार आएमा निकट भविष्यमा डिस्चार्ज गरिनेछ।