भद्रपुर – “दुर्व्यसन त्यागौं, सेवामुखी बनौँ” भन्ने नाराका साथ श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, कचनकवल पृथ्वीनगर प्रासको आयोजनामा किच्चकबध-कचनकवल स्वर्ण महोत्सव म्याराथन सम्पन्न भएको छ। स्वर्ण महोत्सव २०८१ को प्रचार-प्रसारका लागि आयोजित यस म्याराथनमा १५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए।


नेपालको होचो भूभाग रहेको कचनकवलमा आयोजित प्रतियोगितामा छात्राहरूको म्याराथन बनियानीबाट सुरु भएको थियो भने छात्रहरूको म्याराथन सोमबारेबाट सुरु भएको थियो। छात्रातर्फ लक्ष्मी प्रसाद देवकोटा माविकी जुम्मी बेगम प्रथम, लक्ष्मी कार्की द्वितीय, सीता आवीकी एन्जिला तामाङ तृतीय तथा लक्ष्मी माविकी टिकामाया कार्की र सगरमाथा माविकी आशा राई सान्त्वना स्थानमा रहे।
त्यस्तै, छात्रतर्फ विद्या निकेतनका अन्जन लुइटेल प्रथम, लक्ष्मी माविका समीर चम्लागाई द्वितीय, सगरमाथा माविका सन्ताप थापा तृतीय तथा हिमाली माविका मदन बिक र स्वर्णिम शिक्षा सदनका मनिष कार्की सान्त्वना स्थानमा परे। विजेताहरूलाई क्रमशः रु. ५,०००, रु. ४,०००, रु. ३,००० तथा सान्त्वना पुरस्कारस्वरूप जनही रु. १,५०० प्रदान गरियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उपमेयर राधा कार्की, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्य उमाशंकर गणेश, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेत, युवा परिषदका जिल्ला अध्यक्ष समर्पण खतिवडा एवं कोशी प्रदेश समितिका पूर्व अध्यक्ष अनिल ढुंगाना अतिथिका रूपमा उपस्थित थिए।
प्रतियोगितामा सहभागी विद्यार्थी, १५ वटै विद्यालय, आयोजक समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्वयंसेवकहरूलाई आयोजक संस्थाले विशेष धन्यवाद ज्ञापन गरेको छ। साथै, पुरस्कार सौजन्य गर्ने जीवन सापकोटाप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रम सञ्चालन उमेश मिश्रले गरेका थिए। आयोजक संस्थाले स्वर्ण महोत्सव २०८१ का अन्य गतिविधिहरूमा पनि सबैको साथ रहने विश्वास व्यक्त गरेको छ।