कचनकवल। केचनामा नयाँ बर्ष र सिरुवा पर्वको अवसरमा बिभिन्न ब्यक्तिहरु सम्मानित भएका छन्।
नयाँ वर्ष २०८० साल एवं सिरुवा पर्वको अवसरमा नेपाल गन्गाई कल्याण परिषद, नेपाल गन्गाई कल्याण परिषद जिल्ला कमिटी झापा र भ्वाइस अफ गन्गाई कम्युनिटीको सह-आयोजनामा शनिबार शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
आदिवासी समुदायको कला संस्कृति तथा धर्म जगेर्ना गर्न दक्षिणी झापाको कचनकवल-४ केचनामा कार्यक्रम आयोजना गरिएको हो।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रमेशकुमार गणेशको अध्यक्षता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी राजवंशीले सबै समुदायले आफ्नो मौलिक परम्परा संरक्षण गर्नुपर्ने बताए।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, विशेष अतिथि सह-आयोजक समितिका जिल्ला अध्यक्ष रघुनन्दन गणेश रहेका थिए।
बिभिन्न बिधाका ब्यक्ति सम्मान कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक रामप्रसाद गणेश, चन्द्रवती गणेशलाई सम्मान गरिएको थियो।


कार्यक्रममा निजामती लेखा अधिकृत तर्फ कमल कुमार गणेश, स्वास्थ सेवामा हरगोविन्द गणेश र नायव सुब्बा दिनेश गणेशलाई समेत सम्मानित गरिएको थियो।
त्यस्तै गायन बिधामा गशाई अघ्नु गणेश र अकालु गणेशलाई सम्मानित गरिएको थियो।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम अन्तर्गत नटुवा गायन मर्चिन गणेशको नेतृत्वमा भएको थियो भने हृदयनारायणको नेतृत्वमा हरीलोट तथा जगबन्धु नाच भएको थियो।
सहबती गणेशको टोलिले भने घाटोसरी गायन प्रस्तुत गरेको थियो।
अतिथिहरु कचनकवल गाउँपालिकाका सातवटै वडाका वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य उमाशंकर गणेश, र अन्य विभिन्न राजनीतिदलबाट निर्वाचित जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो।
स्थानीय वसन्त कुमार गणेशले सञ्चालन गरेको सो कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशीले गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य ४ नम्बर वडाका वडा सदस्य सन्तोषकुमार गणेश राखेका थिए भने कार्यक्रमको औचित्य माथी प्रकाश गन्गाई कल्याण कचनकवलका उपाध्यक्ष उमाशंकर गणेशले गर्दै कार्यक्रम अघि बढेको थियो।
त्यस्तै कार्यक्रममा स्वागत नृत्य स्थानीय लक्ष्मी गणेश र पूजा गणेशले प्रस्तुत गरेका थिए।



















