काठमाडौं। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित पहाडी भू-भागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको छ। उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहितका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
यी प्रदेशहरूका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना कायमै छ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरतिर रहेको जनाइएको छ।
भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रहरूमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन्।