गाजा, माघ १९ – इसराइल र हमासबीच युद्धविरामको १२ दिनमा हमासले गजाबाट १५ जना बन्धक रिहा गरेको छ। बिहीबार मात्रै उसले आठ जनालाई बन्धकमुक्त गरेको थियो।
बिहीबार मुक्त गरिएका व्यक्तिहरूमा तीन जना इसराइली र पाँच जना थाइल्याण्डका नागरिक छन्। इसराइलीहरूमा २० वर्षीया अगाम बर्गर, २० वर्षीया अर्बेल यहुद, र ८० वर्षीय गडि मोस मोजेस् छन्। अगाम इसराइली सेनाकी सदस्य हुन्। थाइ नागरिकहरूको नाम भने सार्वजनिक गरिएको छैन।
यसअघि, माघ ६ गते युद्धविराम घोषणा हुँदा हमासले तीन महिला बन्धक रिहा गरेको थियो भने त्यसको एक सातापछि चार जनालाई मुक्त गरेको थियो।
यो साता दुई पटक हमासले बन्धक छाड्ने तालिका बनाएको छ। शनिबार पनि केही बन्धकहरू रिहा गरिने बताइएको छ। बन्धक साटासाटको सहमतिअनुसार, हमासले बन्धकहरू छाड्दा इसराइलले आफ्ना जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्नेछ।
विपिन जोशीको रिहाइको सम्भावना बलियो
यस युद्धविराम अवधिमा ३३ जना बन्धकहरू मुक्त हुनेछन् भने २ हजारभन्दा बढी प्यालेस्टिनीहरू रिहा हुने इसराइली अधिकारीहरूले बताएका छन्।
हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको अवस्था बारेमा पछिल्लो समय सकारात्मक संकेत देखिएको छ। इसराइली सञ्चारमाध्यमहरूले विपिन जोशी जीवित रहेको पुष्टि गरेका थिए।
पहिलो चरणको युद्धविराममा इसराइलका नागरिकहरूलाई मात्रै मुक्त गर्ने सम्झौता भए पनि बिहीबार थाइल्याण्डका नागरिकहरू पनि रिहा गरिएपछि विपिनको पनि चाँडै नै रिहाइ हुन सक्ने सम्भावना देखिएको छ।