झापा- झापाको बिर्तामोड नगरपालिका वाड नम्बर ८ स्थित गरामनीको काब्रुमबारी शीतल चोक पूर्व आगामी चैत्र ११ गतेदेखि पाथीभरा देवी शक्तिपीठ मन्दिर सञ्चालनमा आउने भएको छ।
स्थानीय सन्तोष प्रसाईँ एघार वर्ष नौ महिना नौ दिन बिरामी भएर उपचारका लागि नेपाल लगायत भारतको विभिन्न स्थानमा लगिएको तर कही पनि उपचार सम्भव नभएपछि प्रसाईँलाई अन्तिममा अर्जुनधारा १० स्थित कालि स्थान चुथाईमा रहेको श्री जलकन्या देवी शक्तिपीठ निलकण्ठ धाममा उक्त मन्दिरका पिठाधीश प्रदिप कुमार पुरीको समन्वयमा मातको ध्यानको लागि लगिएको थियो। नौ महिना नौ दिनको ध्यान पश्चात् बिरामी प्रसाईँमा पाथिभरा माताको शक्ति उत्पन्न भई माताले आफ्नो भक्ति गर्न एउटा मन्दिर निर्माण गर्नुपर्ने भनी स्थान समेत तोकिदिनु भएपछि यो मन्दिरको निर्माण कार्य प्रारम्भ गरिएको प्रसाईँले बताउनु भयो। हाल यो मन्दिर निर्माणाधीन अवस्थामा छ।
स्थानीय धार्मिक भक्तजनहरूको स्वतस्फुर्त सहयोगबाट मन्दिरको आधा भन्दा बढी संरचना निर्माण भइसकेको र चाडै मन्दिरले पूर्णता पाउने मन्दिर निर्माण तदर्थ समितिका अध्यक्ष निराजन ओलीले जानकारी दिनुभयो। मन्दिरमा शिव , हनुमान , कानदेव, जोर सिंह, गणेश लगायतका देवताको छुट्टाछुट्टै मूर्तिहरू निर्माणको कार्य समेत भइरहेको छ।उनका अनुसार यस मन्दिर प्राङ्गणमा आगामी चैत्र ८ गतेदेखि महापुराण हुने र ११ गते राष्ट्रिय स्तरका धार्मिक व्यक्तित्वहरूलाई बोलाई मन्दिरको विधिवत रुपमा उद्घाटन गरिने छ।
लामो समय बिरामी भई पाथिभरा माताको ध्यान पश्चात् स्वस्थ बनेका मन्दिरका मूल साधक सन्तोष प्रसाईँका अनुसार मन्दिरमा विशेष गरी बिरामी भई पीडित भएका, दुःख कष्ट पाएका मानिसहरूलाई स्वच्छ मनले माता पाथिभराको ध्यान गरेमा आत्मबल प्राप्त भई निको पार्न सकिने विश्वास समेत गरिएको छ। यस मन्दिरमा गरामनी बासी लगायत देशका सबै स्थानका भक्तजन आएर पाथीभरा माताको ध्यान दर्शन गर्न पाउनेछन् तर कुनै प्रकारको बलि भने दिन पाइने छैन।