काठमाडौँ – देशभरका ६२ जना बालिका तथा किशोरीले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका हुन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो ।
हरेक अक्टोबर ११ मा नेपालसहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरूमा बालिका तथा किशोरीहरूलाई पदभार ग्रहण गराउने ‘गल्र्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो । यसवर्ष बालिका तथा किशोरीहरूको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गल्र्स टेक ओभर कार्यक्रम हुन लागेको हो । यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ ।
आजदेखि सुरु भएर अक्टोबर ११ सम्म ‘गल्र्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेशनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिए । ‘बालिका तथा किशोरीहरूलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौँ,’ उनले भने, ‘उनीहरूले नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् । आगामी दिनमा उनीहरूलाई जनप्रतिनिधिसँग मिलेर काम गर्न सहज हुनेछ ।’
सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरूले पद ग्रहण गर्नेछन् । यसक्रममा उनीहरूले अनलाइनबाट बालिका तथा किशोरीहरूमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन् ।
शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन् । ‘एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु,’ भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन् ।
बालिका, किशोरीको अनलाइन प्रयोगबारे प्रतिवेदन सार्वजनिक
प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोग बारेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार किशोरी तथा बालिकाहरूले कोभिड–१९, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा जानकारी लिन अनलाइन प्रयोग गर्ने गरेको पाइएको छ ।
यो अध्ययन २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरूसँग गरिएको प्लानले जनाएको छ । अध्ययनमा सहभागी किशोरी, बालिका मध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरूले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरूले सामाजिक सञ्जालहरूमा रिक्वेस्ट पठाउने र कुरा गरेर तनाव दिने जस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको बताएका छन् ।
अध्ययन प्रतिवेदन अनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको प्रतिवेदनमा उल्लेख छ । अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरतासम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि गरिएको छ ।इकागजबाट