गौरादह — झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्।
गएराति करिब १ बजे गौरादह–१ स्थित क्रसर उद्योग छेउबाट उनीहरूलाई मासु बोरामा हालेर लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २९ वर्षीय शंकर लिम्बू, ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।
प्रहरीका अनुसार सोधपुछका क्रममा उनीहरूले गोरुको मासु शंकर लिम्बूको घरमै काटिएको स्वीकार गरेका थिए। त्यसपछि प्रहरी टोली लिम्बूको घर पुग्दा निलो प्लास्टिकमा राखिएका बोरा, डोको र सेतो बाल्टिनभित्र बहरको टाउको, खुट्टा, छाला र अण्डकोष फेला पारेको थियो।
प्रहरीले घटनास्थलबाट करिब १५० केजी गोरुको मासु बरामद गरी पाँचै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा ल्याएको छ। उनीहरूलाई अहिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।