झापा। सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण गरेको चैते धानको न्यूनतम समर्थन मूल्य झापाका कृषकले पाउन सकेका छैनन्। समर्थन मूल्यभन्दा करिब एक हजार रुपैयाँ कम मूल्यमा धान बेच्न बाध्य भएका कृषकको गुनासो बढ्दै गएको छ।
सरकारले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू २,८६९ तोकेको थियो। तर, झापाका कृषकले अहिले प्रतिक्विन्टल रू १,७५० मा धान बेच्नुपरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो।
“मूल्य नपाएपछि कृषकहरुले सात सय रुपैयाँ प्रतिमनमै धान बेचिरहेका छन्,” प्रमुख विष्टले भन्नुभयो, “धान मिलहरुले न्यून मूल्यमा खरिद गरिरहेका छन्, जसले गर्दा कृषकको गुनासो चुलिएको छ।”
भण्डारणको सुविधा नभएको र नगद आवश्यकताका कारण कृषक बाध्य भएर तुरुन्तै धान बिक्री गरिरहेका छन्।
गत वर्ष प्रतिमन रू १,००० देखि १,२०० सम्ममा बिक्री भएको चैते धान यो वर्ष समर्थन मूल्य तोकिएपनि अझै सस्तोमा बिक्री हुन थालेपछि कृषक थप निराश बनेका छन्।
एक बिघामा अधिकतम ९० मन धान उत्पादन भए पनि वर्तमान मूल्यले कृषकको लगानी मात्रै उठ्ने अवस्था आएको प्रमुख विष्टको भनाइ छ। “एक बिघामा धान खेती गर्दा ५०–५५ हजार रुपैयाँ खर्च हुन्छ,” उहाँले भन्नुभयो, “अहिलेको बजार मूल्यअनुसार बिक्री गर्दा जम्मा ६३ हजार रुपैयाँ मात्रै आउँछ, जसमा नाफा रहँदैन। नाफा नै नहुने भएपछि कृषकमा खेतीप्रतिको आकर्षण घट्दो छ।”
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष झापामा २० हजार हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको छ, जसबाट करिब एक लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ। जिल्लामा हर्दिनाथ–१ र राम जातका धान लगाइएकोमा ८० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ–१ खेती गरिएको छ।
नेपाल सरकारका अनुसार देशमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेको छ, तर हाल उत्पादन ५४ लाख टन हाराहारी मात्र छ। बाँकी धान आयात गर्नु पर्ने अवस्था रहेको तथ्यांकले देखाएको छ।
यसरी स्वदेशमै उत्पादन भइरहेको धानको उचित मूल्य नपाउँदा एकातिर कृषक मारमा परिरहेका छन् भने अर्कातिर धान आयातमा निर्भरता बढ्दो छ।