झापा। झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेको सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर बिक शिक्षा मात्र होइन, सेवामा पनि अब्बल देखिएका छन्। स्कुल छुटेपछि हतारिँदै घर फर्किने विद्यार्थीहरूको सहजताका लागि उनी आफैं सिटी सफारी कुदाएर घर–घर पुर्याउँछन् त्यो पनि बिना पारिश्रमिक, निःस्वार्थ भावनाले।
विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा सिकाइमै असर पर्ने देखिएपछि स्थानीय वडाले लगभग ३ लाख ५० हजार रुपैयाँ बराबरको सिटी सफारी उपलब्ध गराएको थियो। तर, उक्त सवारीसाधन को चलाउने भन्ने अन्योलको समयमा विद्यालयका अर्को शिक्षक ओम आचार्यले पहिलोपटक हिम्मत गरेर सिटी सफारी चलाए। सुरुमा डर लागे पनि केही दिनमै गाडी चलाउने सीप आर्जन गरेपछि उनी बिहान–बेलुका विद्यार्थी ल्याउने–लाने काममा जुटे।
एक महिना अघिदेखि बिहानको जिम्मा प्रधानाध्यापक बिकका भान्जाले लिएका छन्, जसले दैनिक १०० रुपैयाँ पारिश्रमिक पाउँछन्। तर, बेलुका भने प्रधानाध्यापक बिक स्वयं सिटी कुदाउँछन्। उनी न केवल विद्यार्थीलाई सुरक्षित रूपमा घर पुर्याउँछन्, तर अभिभावकसँग प्रत्यक्ष संवाद गरेर विद्यार्थीको प्रगति, व्यवहार र अवस्था बुझ्ने प्रयास पनि गर्छन्।
“विद्यार्थीको प्रगति र व्यवहारबारे अभिभावकसँग प्रत्यक्ष कुरा गर्न पाउँदा साँचिकै सन्तुष्टि मिल्छ। यस्तो सेवा गर्न पाउँदा जीवन नै सार्थक लाग्छ,” प्रधानाध्यापक बिकको भनाइले उनको निःस्वार्थ सेवाभाव झल्काउँछ।
विद्यालयको शैक्षिक गुणस्तर सुधार्न धेरै उपाय अपनाइए पनि यस्ता व्यक्तिगत प्रयासहरूले विद्यार्थी, अभिभावक र समुदायको मन जित्न सक्ने स्पष्ट संकेत मिलेको छ।
शिक्षक पेशा केवल पढाउने काम नभई समाजसँग जोडिने पुल पनि हो भन्ने कुरा प्रधानाध्यापक बिकको यो कार्यले सप्रभा देखाएको छ।