पालिका सन्देश । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनका कारणले कृषि क्षेत्रमा विभिन्न चुनौतीहरू थपिएका छन् । जलवायु परिवर्तन हुँदा तापक्रममा परिवर्तन, वर्षाको ढाँचामा परिवर्तन र खडेरी, बाढी तथा पहिरो जस्ता विषम मौसमी घटना बढ्दो पाइएको छ । यसले नेपाली कृषिको उत्पादकत्वमा असर परिरहेको पाइएको छ । नेपालको खेती प्रणाली मौसममा आधारित छ । यसले गर्दा खडेरीबाट अत्यधिक प्रभावित बनेको छ । तापक्रम वृद्धि साथै वर्षाको अनियमितताले यस क्षेत्रको संवेदनशीलता अझ बढाएको देखिन्छ । जलवायु परिवर्तनका कारण यस क्षेत्रको मनसुन चक्र समेत पछाडि सर्दै गएको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईँको नेतृत्वमा ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपाल केन्द्रित अनुसन्धानमा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको छ । सो अध्ययन सन् २०२२ देखि अक्टोबर सन् २०२४ मा अध्ययन गरिएको थियो । सो अध्ययनमा रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्ला ६३३ जना किसानलाई समावेश गरिएको केन्द्रीय विभागका प्रा.डा. प्रेमसागर चापागाईँले बताए । ‘नेपालमा जलवायु परिवर्तनको प्रभावको रूपमा तापक्रम वृद्धि, अनियमित वर्षा, विषम मौसमी घटनाहरूको वृद्धि, जलवायुजन्य प्रकोप र विपद्का घटनाहरूको आवृत्ति बढिरहेको छ,’ उनले भने, ‘यसले गर्दा वर्षामा आधारित कृषि प्रणालीमा निर्भरता बढेको छ । साथै पारिस्थितिक तथा धरातलीय विविधताका कारण कृषि क्षेत्रमा धेरै प्रभाव परेको छ ।’
नेपालमा जलवायु परिवर्तनका कारण कुल ग्राहस्थ उत्पादनको ९.९ प्रतिशत सम्म क्षति हुन सक्ने अध्ययनले देखाएको छ । खासगरी, जलवायु परिवर्तनले गर्दा बाली, पशुपालन, र माछापालनमा समेत गरी १० प्रतिशतदेखि ३० प्रतिशतसम्म क्षति हुन सक्ने देखिएको छ । ‘जलवायु परिवर्तनमध्ये खडेरी पनि एक हो । बढ्दो खडेरी र मनसुनको ढिलाइको कारण बाली लगाउने समय पछाडि सर्दै गएको छ’ उनले भने, ‘जसले गर्दा बीउ छर्ने, उम्रिने, फुल्ने, र फल लाग्ने प्रक्रियामा असर पारेको छ ।’ चापागाईँले उत्पादकत्व पनि घटेको बताए । साथै बाढी पहिरोजस्ता प्रकोपले कृषि भूमिमा क्षति पु¥याएको र लगाएको बालीनाली समेत नष्ट गरेको उनको भनाइ छ ।
चापागाईँका अनुसार जलवायु परिवर्तनका प्रभावहरू नकारात्मक र सकारात्मक दुवै देखिएका छन् । उनले गरेको अध्ययन क्षेत्रमा लगभग ९ प्रतिशत घरपरिवारले मात्र सकारात्मक परिवर्तन पाएका छन् । सो प्रभावमा हिमाली र पहाडी क्षेत्रका उच्च भू–भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि हुनुलाई सकारात्मक प्रभावको रूपमा लिन सकिने उनले तर्क राखे । तर सोही अध्ययनमा हिमाली क्षेत्रका ७९ प्रतिशत, पहाडमा ९१ प्रतिशत र तराई क्षेत्रमा ९४ प्रतिशत घरपरिवारले कृषिमा जलवायु परिवर्तनका नकारात्मक प्रभाव अनुभव गरेका छन् । उनले भने, ‘बाली उत्पादन घट्नु, बालीनालीमा रोग तथा कीराहरूको वृद्धि हुनु र नदीमा माछाको विविधता र उत्पादनमा कमी आउनु आदि प्रमुख नकारात्मक प्रभाव देखिएका छन् ।’
कृषि उत्पादन घट्दो
जलवायु परिवर्तनको कारण कृषि उत्पादन घटेको छ । अध्ययन क्षेत्रका ९० प्रतिशतभन्दा बढी घरपरिवारको कृषि उत्पादकत्वमा कमी आएको छ । प्रमुख बालीहरूको उत्पादन हिमालमा ३०–४० प्रतिशत, पहाडमा लगभग २५ प्रतिशत र तराईमा १५ प्रतिशतले उत्पादन घटेको अध्ययनले देखाएको छ । अध्ययनले उत्पादन लागत पनि बढेको देखाएको छ । हिमाली क्षेत्रमा १५.४ प्रतिशत उत्पादन लागत बढेको छ भने, तराई र पहाडमा क्रमशः ९० प्रतिशत र ६८ प्रतिशत उत्पादन लागत बढेको देखिएको छ । मौसम परिवर्तनका कारण हिमाली भेगको चरण क्षेत्रमा घाँसपातको उत्पादनमा असर परेको छ । तापक्रम वृद्धिले चौँरी तथा हिमाली बाखा, भेडा तथा पहाड र तराईमा पनि गाईबस्तुमा विभिन्न रोग देखिएको सो अध्ययनमा उल्लेख छ ।
बाली बिरुवामा रोग कीराको प्रकोप बढ्दो
जलवायु परिवर्तनको प्रमुख प्रभाव भनेको फसल उत्पादनका विभिन्न चरणहरूमा बालीमा कीराहरू र रोगहरूको वृद्धि हुनु हो । हिमालमा ५१ प्रतिशत घरपरिवारहरूले तथा पहाड र तराई क्षेत्रमा शतप्रतिशत घरपरिवारहरूले बालीनालीमा रोग किराको वृद्धि भएको दाबी गरेको अध्ययनमा उल्लेख छ । बाढी, पहिरोका कारण कृषि भूमिमा थप क्षति भइरहेको छ भने बेमौसममा हुने ठुलो वर्षा हावाहुरी र असिनाले मकै, धानबाली र फलफूलमा क्षति पु¥याएको छ । किसानले प्रत्येक वर्ष थप रासायनिक मल र कीटनाशक औषधिको प्रयोग गर्नुपरेको कारण कृषिमा लागत वृद्धि हुँदै गइरहेको चपागाईंले बताए ।
पाक्नुअघि नै बाली सुक्दै
सो अध्ययन अनुसार सुख्खा खडेरीले हिमाली क्षेत्रमा पाक्नुअघि नै बाली सुक्न थालेको छ । विगतमा गाईबस्तुको मल प्रयोग गर्दा माटोको आर्द्रता कायम हुन्थ्यो । तर गाईबस्तुको सङ्ख्यामा कमी आएका कारण किसानहरूले रासायनिक मल प्रयोग गर्न थालेका छन् । जसले माटोको आर्द्रता कायम रहन नसकेको चपागाईंले बताए । ‘पहाड र तराई क्षेत्रमा, हिउँदे वर्षा घट्दै गएकोले गर्दा सिँचाइको स्रोतको रूपमा प्रयोग हुने प्राकृतिक मुहान र ढुङ्गे धारामा पानीको मात्रा घट्दै गएको र धेरै पानीका मुहान सुक्दै गएका छन्,’ उनले भने,‘ यसबाट सिँचाइको लागि पानीको अभाव देखिएको छ ।’
जलवायु परिवर्तनका कारण ६० प्रतिशत घरपरिवारको प्रमुख तथा नगदे बालीहरूमा गम्भीर प्रभाव परेको चपागाईंको तर्क छ । ‘प्रत्येक घरपरिवारको वार्षिक औसत बालीको क्षति हिमाली क्षेत्रमा लगभग ६०० अमेरिकी डलर, पहाडमा २२५० डलर र तराई क्षेत्रमा २१०० अमेरिकी डलर बराबर छ,’ उनले भने । तराईमा औसत वार्षिक ०.००४२, पहाडमा ०.०९२१ र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको तथ्य अनुसन्धानमा पाइएको छ । यसैगरी वार्षिक वर्षा हिमाली क्षेत्रमा १३.१२ मिलिमिटर, पहाडी क्षेत्रमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटर घटेको सो अध्ययनमा उल्लेख छ ।