प्रमोदकुमार साह/जनकपुरधाम । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म र भावनाअनुसार कदम नचालेको भन्दै जेनजीसहित आमनागरिकमा छाउँदै आएको निराशा आक्रोशमा परिवर्तन हुँदा बुधबार मधेस प्रदेश फेरि तनावग्रस्त बनेको छ ।
जेनजी आन्दोलन दबाउन गोली प्रहार गरी युवाहरूको हत्या गर्न आदेश दिने तत्कालीन सरकार र प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रमेश लेखकलाई कुनै कानुनी कारबाही नहुँदा असन्तुष्ट बनेका जेनजी समूहहरू आक्रोशित हुँदा बुधबार बाराको सिमरामा तनावग्रस्त स्थिति बनेको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा विमानस्थल आसपास बुधबार दिउँसो जेनजी समूहका युवा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिति अत्यन्तै तनावग्रस्त बन्यो । परिस्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो साढे १२ बजेदेखि साँझ ८ बजेसम्म कफ्र्यू आदेश जारी गर्यो ।
यस्तै, सुरक्षा अवस्थाको कारण देखाउँदै सिमरा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । एमालेले मधेस प्रदेश स्तरीय ‘युवा जागरण अभियान’ अन्तर्गत परवानीपुर गाउँपालिका–४, चैनपुरमा आयोजना गरेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत उपस्थित हुने तय भएको थियो । उनीहरू बुधबार बिहान १०ः३५ बजे बुद्ध एअरको विमानमार्फत् सिमरा विमानस्थलमा अवतरण गर्ने तय थियो ।
जेनजी समूहले महेश बस्नेतले विगतमा आफूहरूविरुद्ध व्यक्त गरेका अभिव्यक्ति र व्यवहारको विरोध गर्दै उनीहरूको आगमनमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको थियो । उनीहरूले मंगलबार रातिदेखि नै सामाजिक सञ्जालमार्फत् कालो झन्डा देखाएर शान्तिपूर्ण विरोध गर्न आह्वान गरेका थिए ।
बुधबार बिहानदेखि नै सयौँ जेनजी युवाहरू प्लेकार्डसहित विमानस्थल चोक क्षेत्रमा भेला भई शान्तिपूर्ण नाराबाजी गरिरहेका थिए । तर, एमाले नेताहरूलाई स्वागत गर्न आएका केही कार्यकर्ताले प्रदर्शनकारीलाई धकेलेपछि स्थिति तनावपूर्ण बन्दै गयो । सोही क्रममा बाराका एक एमाले नेताले सडकछेउमा उभिएका एक प्रदर्शनकारी युवालाई थप्पड हानेका थिए ।
त्यसपछि शान्तिपूर्ण प्रदर्शनमा आएका युवा आक्रोशित भएका थिए । केही मिनेटमै शान्तिपूर्ण विरोधले हिंसात्मक रूप लियो । आक्रोशित युवाहरू नाराबाजी गर्दै विमानस्थलको मुख्य गेटमा तोडफोड गरे, सिसा फुटाए, कुर्सी–टेबल बाहिर निकालेर आगो लगाउने प्रयास गरे ।
उनीहरूले टायर बालेर सडकसमेत अवरुद्ध पारे । प्रदर्शनकारीले ढुंगा, इँटा र बोतल प्रहार गर्न थालेपछि प्रहरीले अश्रुग्यास, हवाई फायर र लाठीचार्ज गरेको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवै पक्षका केही व्यक्ति घाइते भएका छन् ।घटना क्रमशः उग्र बन्दै गएपछि बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दिउँसो १२ः३० बजेदेखि साँझ ८ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेका थिए ।
कफ्र्यू लगाइएको क्षेत्रमा गण्डक नहरदेखि पथलैया सडकखण्डसम्मको राजमार्गको दायाँ–बायाँ ५०० मिटर तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र समेटिएको थियो । अत्यावश्यक सेवाका सवारीसाधनहरू एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, कूटनीतिक सवारीसाधन तथा हवाई टिकट बोकेका यात्रुलाई भने सुरक्षाकर्मीले आवतजावतमा सहजीकरण गरेका थिए ।
यसैबीच, शान्ति सुरक्षाका कारण सिमरा विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार २ समूहबीच ढुंगा–बोतल हानाहान भएपछि सुरक्षा अवस्था बिग्रिएकाले विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको हो ।’
फर्के एमाले नेताहरू
बारामा असहज स्थिति भएसँगै एमाले नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्किएका छन् । जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार बिहान महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत र भानुभक्त ढकाललगायत काठमाडौँ विमानस्थल पुगेका थिए । तर, उनीहरू सिमरा आउने खबर पाएर जेनजीहरूले विमानस्थल परिसरमा प्रदर्शन गरेपछि विमानस्थल नै बन्द गरिएपछि उनीहरू फर्किन बाध्य भएका हुन् ।



















