काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचनमा उम्मेदवारी दिन बालेन शाहलाई निम्तो दिएका छन् ।
काठमाडौँस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा अनिल पाण्डे, विजय विनीत पाण्डे लगायत दर्जनौँ व्यक्तिहरूले बालेन शाहलाई भेटेर महोत्तरी ३ बाट चुनाव लड्न आग्रह गरेका हुन् ।
अनिल पाण्डेले बालेनसँग करिब एक घण्टा लामो छलफल भएको जानकारी दिए । पाण्डेले छलफलका क्रममा महोत्तरी क्षेत्र नम्बर ३ को वस्तुस्थिति जानकारी गराउँदै सो क्षेत्रले बालेन शाहलाई खोजेको बताए ।
बालेन शाहको पैत्रिक गाउँ समेत महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिका भएकाले यस क्षेत्रका जनताले आफ्नै पुर्खौली भूमिबाट निर्वाचन लड्न आग्रह गरिरहेको कुरा उनले बालेनलाई जानकारी गराएका थिए ।
बालेन भने झापाबाट निर्वाचन लड्ने चर्चा भइरहेको छ । तर, उनले महोत्तरी क्षेत्र नम्बर ३ पनि आफ्नो प्राथमिकतामा रहेको बताएको पाण्डेले जानकारी दिए । उनका अनुसार माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा बालेन शाह र पार्टी सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको छ ।


















