झापा, माघ १ । झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवराम गेलाललाई अपशब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका अभय राजवंशी रिहा भएका छन्। गल्ती स्वीकार गर्दै अब आइन्दा यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई बिहीबार रिहा गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार राजवंशीले जिल्ला प्रशासन कार्यालयमा मौखिक र जिल्ला प्रहरी कार्यालयमा लिखित माफी मागेका छन्। “आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने सर्तमा माफी मागेपछि उनलाई छाडिएको छ,” प्रजिअ गेलालले बताए।
के थियो घटना?
गत पुस २९ गते राजवंशी समाज विकास समितिको नाममा डोमालाल राजवंशी रंगशालामा आयोजित ‘भाक्का दिवस’ का क्रममा राजवंशीले प्रमुख जिल्ला अधिकारी गेलाललाई सार्वजनिक रूपमा अपशब्द प्रयोग गरेका थिए।
सोही विषयमा सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयले राजवंशीलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार (च.न. ६१६५, मिति २०८२।०९।३०) गरेको थियो। प्रशासनको आदेशअनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक देवराज निरौलाको टोलीले कनकाई–९ घर भएका ४४ वर्षीय राजवंशीलाई बिर्तामोड–१ स्थित ‘नाइटलाइफ डान्सबार’ बाट बुधबार राति १०:३० बजे नियन्त्रणमा लिएको थियो।
अन्य दुई जना पनि रिहा
अभय राजवंशीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका अन्य दुई जना पनि रिहा भएका छन्।
पक्राउ पर्नेमा नाइटलाइफ डान्सबारकी सञ्चालिका ४२ वर्षीया नविना राजवंशी र बिर्तामोड–१ का ४१ वर्षीय रमेश राजवंशी थिए। नविनालाई गएराति (१२:३५ बजे) नै आवश्यक परेको बखत उपस्थित हुने गरी उनका श्रीमान् भरत राजवंशीको जिम्मा लगाइएको थियो भने रमेश राजवंशीलाई आज रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



















