झापा। दक्षिणी झापाको कचनकवल गाउँपालिका–२ बगलामारीस्थित नारायण सिंह राजवंशीको खेतमा भएको आगलागीबाट ठूलो क्षति भएको छ। बिहिबार राति अचानक लागेको आगोले राजवंशीले ३ विघा खेतमा लगाएको धानका दुई कुन्यु पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीका कारण २०० मन धान र पराल जलेर अन्दाजी तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगलागीको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक रोहित बहादुर मगर नेतृत्वको टोली र प्रहरी चौकी पथारियाका प्रहरी सहायक निरीक्षक निर कुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगेका थिए। आगो नियन्त्रणका लागि भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीको सहकार्यमा बिहान ३:२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रनानि रोहित बहदुर मगरले जानकारी दिए।