झापा, ४ साउन। खुला सीमाका कारण लागू औषधको ओसारपसार तीव्ररुपमा बढिरहेको झापा जिल्लामा प्रहरीले कारोवारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान तीव्र बनाएको छ। पछिल्लो समय विर्तामोड–५ स्थित एक घरमा ठूलो मात्रामा लागू औषध भण्डारण गरिएको गोदाम फेला पारिनु प्रहरीले सञ्चालन गरिरहेको अभियानको ठुलो उपलब्धिको रूपमा हेरिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा लागू औषधको कारोबार गरेको अभियोगमा ५५९ जना पक्राउ परेका छन् भने ३४६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष ४६२ जना पक्राउ परेका थिए, जसअनुसार यो वर्ष कारोबारमा संलग्नको संख्या १६.५ प्रतिशतले वृद्धि भएको छ।
‘कि जेलमा, कि सुधार केन्द्रमा’ भन्ने नारासहित अभियान चलाइरहेको प्रहरीले पछिल्लो एक वर्षमा सीमावर्ती नाका, राजमार्ग तथा भित्री सडकहरुमा चेकजाँच गर्दा १४० जना प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृह पुर्याएको जनाएको छ।
जनचेतना अभिवृद्धिका लागि विद्यालय र समुदायस्तरमा अभियान सञ्चालन गर्दै आएको प्रहरीले “दूव्र्यसनविरुद्ध आमाहरु” र “फाइट एगेन्स्ट नारकोटिक” अभियानसमेत अघि बढाएको छ। प्रहरीका अनुसार, २०८१/८२ मा झापाबाट १,६५१ केजी गाँजा र २ केजी ८८२ ग्राम ब्राउन सुगर बरामद भएको छ।
कोशी प्रदेशका १४ जिल्लामध्ये लागू औषधको समस्या सर्वाधिक झापामा देखिएको छ। प्रदेशभर मात्रै गत वर्ष लागू औषध सम्बन्धी अभियोगमा २,०३७ जनाविरुद्ध कानुनी कारबाही भएको र २२,००० केजी गाँजा तथा ४ केजी ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
झापाको मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकवल लागू औषध कारोबारका प्रमुख क्षेत्रका रूपमा चिनिएका छन्। पूर्वी नाका भएकाले काँकडभिट्टाबाट दैनिकजसो कारोवारी तथा प्रयोगकर्ता पक्राउ भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय सीमामा चेकजाँच कडा हुन थालेपछि कारोबारमा संलग्नहरुले विर्तामोड–५ मा गोदाम सञ्चालन गरी धन्दा चलाएको खुलेको छ। स्थानीय मनकुमार सङ्ग्रौलाको दुई तले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागू औषध भण्डारण गरिएको थियो। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार उक्त गोदाम औषधि पसल सञ्चालकले सञ्चालन गरेका थिए।
स्थानीयले औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन्। खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’ नामक औषधि पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीले गोदाममा भण्डारण गरिएका लागू औषधहरु इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलगायतका पहाडी जिल्लामा आपूर्ति हुने गरेको आशंका व्यक्त गरेको छ।
भारतसँग १४४ किलोमिटर लामो खुला सीमा भएका झापामा लागू औषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। सीमा नाका प्रयोग गरी विभिन्न बहानामा भारतबाट लागू औषध भित्र्याउने कार्य बढ्दो रहेकाले नागरिक समाजसमेत चिन्तित देखिएको छ।