झापाको विर्तामोड नगरपालिका २ चारपाने निवासी तिलकचन राजवंशी ठगिएको घटनामा संलग्न बिर्तामोड २ बस्ने ६३ वर्षीय मनोरथ भेटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत झापाको पक्राउ आदेश अनुसार ठगी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको सिलसिलामा भेटुवाललाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले बिहीबार दिउँसो कनकाई वडा नं. ४ कोटीहोमबाट नियन्त्रणमा लिएको हो । उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ ।
भेटवाललाई पक्राउ गर्न विप्लव नेकपाका नेता कार्यकर्ताले सहयोग गरेका थिए । एनआइसी एसिया बैंक सुरुङ्गा शाखाका ब्रान्च म्यानेजर लेखनाथ अधिकारी भने सम्पर्कमा आएका छैनन् । उनी कार्यालयमै निरन्तर रहेपनि प्रहरीले बेवास्ता गरेपछि पीडित राजवंशीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापामा निवेदन दिएका थिए। बैंक म्यानेजर अधिकारीसहित ६ जना विरुद्ध जिल्ला अदालत झापाले २०८१ माघ २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
हार्डवेयर पसल खोल्ने क्रममा साझेदारहरूका कारण राजवंशीको बेहाल भएको हो । ५० लाख रुपैयाँ शेयर हाल्ने भनेर व्यवसायमा हात हालेका उनी अहिले अढाई करोडभन्दा बढीको ऋणमा डुबेका छन् ।
बिर्तामोड–२ चारपानेका युनिस भेटवाल र बिर्तामोडका लव मैनालीले संयुक्त रुपमा तीन वर्षअघि चारपानेमा ओम शिवम् ट्रेडर्स नामक हार्डवेयर होलसेल पसल सञ्चालनमा ल्याएका थिए । मैनालीले व्यवसाय छोडेपछि तिलकचन र बिर्तामोडका धर्मप्रसाद सङ्ग्रौला जोडिए । त्यसपछि उनीहरूले साबिक ओम शिवम् ट्रेडर्सको नाम परिवर्तन गरी ओम शिवम् ट्रेडर्स प्रालि राखे । तीन सदस्यीय नयाँ कम्पनीमा सङ्ग्रौलाले ५० लाख र आफूले ५० लाख रुपैयाँ शेयर हाल्ने सहमति भएको राजवंशीको भनाई छ ।
पुरानो कम्पनीको दायित्व नयाँ कम्पनीले तिरोभरो गर्ने कम्पनीको प्रबन्ध पत्रमा उल्लेख थियो । तर, राजवंशीले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । राजवंशीको नाममा बिर्तामोड–२ मा रहेको एक कठ्ठा १२ धुर र कम्पनीको नाममा रहेको तीन कठ्ठा जग्गा राखेर एनआइसी एसियाको सुरुङ्गा शाखाबाट पाँच करोड ५० लाख रुपैयाँ ऋण निकालिएको छ ।
‘मैले ५० लाख शेयर हाल्ने गरी कम्पनीका अध्यक्ष युनिस भेटवालले धनी पुर्जा लग्नुभएको थियो’ , उनले भने, ‘पछि मालपोतमा जग्गा रोक्का गर्न जाँदा २ करोड २४ लाख ऋण निकाल्न लागिएको बुझेपछि मैले हुँदैन भनेँ तर यो भ्यालुएसन मात्र हो तपाईँको ऋण ५० लाख मात्र हो भनियो ।’ कम्पनीका अध्यक्ष युनिसका बुबा मनोरथ भेटवाल र बैंकका कर्मचारीको मिलेमतोमा अधिक मूल्याङ्कन गरेर ऋण निकालिएको राजवंशीको आरोप छ ।