झापामा पहिलो पटक सिस्टमिक ल्यूपस एरिथेमैटोसस (एसएलई) रोगबाट एक किशोरीको मृत्यु भएको छ । हल्दिवारी-२ की १६ वर्षीया किशोरीको मङ्सिर १२ गते सो रोगबाट मृत्यु भएको हो । उनलाई दुई वर्षअघि सो रोग पुष्टि भएको थियो । सिकिस्त भएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ उपचार नभएपछि घर ल्याइएको र घरमै निधन भएको आफन्तले जनाएका छन् ।
झापामा पहिलो पटक एसएलई रोग देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार यसअघि कसैलाई पनि यो रोग लागेको थिएन । नेपालमा पनि सो रोगको सङ्क्रमणका बारेमा त्यति थाहा नभएको उनले बताए ।
भारतमा सो रोग प्रति दश लाखमा ३० जनालाई देखा पर्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरुषको तुलनामा महिलाहरू सो रोगबाट बढी प्रभावित हुने गरेका छन् । एसएलई एक प्रतिरक्षा प्रणालीमा लाग्ने रोग हो । यसमा शरीरको प्रतिरक्षा प्रणालीले रगतमा अधिक मात्रामा एण्टिबडी प्रवाह भई आफैलाई आक्रमण गर्ने गर्दछ । जसले गर्दा जोर्नी, मांसपेशी तथा अन्य अङ्गहरूमा सुजन तथा नष्ट हुने गर्दछ । प्रायजसो शरीरको मुख्य अङ्ग मुटु, मिर्गौला, फोक्सो, रक्तसञ्चार, मस्तिष्क, जोर्नीलगायतमा असर गर्ने यो एक दीर्घ रोग भएको चिकित्सकहरू बताउँछन् । यो प्राणघातक समेत हुन सक्छ ।