
दक्षिणी झापाका सीमा नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा खुलेआम तस्करी हुन थालेको छ । तस्करहरूले स्थानीय प्रहरीसँगको सेटिङमा दिनदहाडै निर्वाधरुपमा तस्करीलाई तीव्रता दिएका छन् । आज प्रहरीकै संरक्षणमा तस्करहरूले एक गाडी माछा भारतबाट नेपाल भित्र्याएका छन् । भारतबाट प्रतिबन्धित माछा लिएर आएको गाडीलाई स्थानीयले रोक्न खोज्दा प्रहरीले नै संरक्षण गरी भगाएको हो ।
झापा गाउँपालिका वडा नं २ नरिवल टोलाका युवाहरूले तस्करीको गाडीलाई रोक्न खोज्दा तस्करलाई जोगाउँदै प्रहरीले नै विवाद गरेको थियो । छठ पर्वको अवसरमा हुलाकी सडकअन्तर्गत पर्ने सानोमाई खोलाको किनारमा धार्मिक मेला लगाएका झापाली युवा क्लबका युवाहरूले आज दिउँसो १ बजे हुलाकी सडक हुँदै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र।१–०१–००२च०६५२ नं को महेन्द्रा कम्पनीको पिकअप भ्यानलाई रोकेका थिए ।
नेपालमा विक्री गर्न प्रतिबन्धित माछाको काटुन् लोड गरिएको गाडी रोकेर उनीहरूले चाबी खोसेका थिए । माछाको काटुनले भरिभराउ गाडीलाई चेक गर्न खोज्दा इलाका प्रहरी कार्यालय कुमरखोदका घुमुवा प्रहरी सहायक हवल्दार विकास घिमिरेले चेकजाँच गर्न नदिई उल्टै कानुन हातमा नलिन भन्दै धम्क्याएको स्थानीय रवि मुखियाले बताए ।
स्थानीय प्रत्यक्षदर्शी सहदेवकुमार मण्डलका अनुसार उक्त माछा सुरक्षाको लागि सशस्त्र वेश क्याम्प लाने भन्दै सहायक हवल्दार घिमिरेले गाडीको चाबी चालकलाई दिएर पठाएका थिए । तर, सो गाडी सशस्त्र वेश क्याम्प नलगी भगाइएको हो । उक्त गाडी वेश क्याम्पमा नपठाएर प्रहरीले नै तस्करलाई सहयोग गरेर भगाएको अर्का प्रत्यक्षदर्शी राजु महतोले बताए ।प्रहरी सहायक हवल्दार घिमिरेले भने आफूले झगडा छुट्याउँदै गर्दा सो गाडी कता भागेको थाहा नभएको भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् । यसै गरी टाँघनडुब्बाका सशस्त्र प्रहरीका विओपी प्रमुख प्रेम गुरुङले आफू केही दिनअगाडी मात्रै सरुवा भएर आएकोले यहाँको बारेमा केही पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।



















