झापा। जिल्ला प्रशासन कार्यालय झापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (म) बमोजिम २०८२ फागुन ३ गतेसम्म कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा भातृ संगठनहरूलाई जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यमबाट प्रचारप्रसार र घरदैलो कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेज प्रकाश प्रसाईद्वारा जारी सूचना अनुसार, यसअघि पटक–पटकको छलफल र जानकारीका बाबजुद कतिपय पक्षबाट कोणसभा गर्ने तथा मतदाता प्रभावित पार्ने गतिविधि भइरहेको गुनासो आएकोले यस्ता कार्य नगर्न पुनः सचेत गराइएको हो।
प्रशासनले अब उप्रान्त कसैले आचारसंहिता उल्लंघन गरी प्रचारप्रसार गरेको प्रमाण भेटिएमा प्रचलित कानून बमोजिम तत्काल कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।




















