झापा । झापाका अण्डा उत्पादक किसानले सडकमा अण्डा फालेर र कुखुरा छोडेर विरोध प्रदर्शन गरेका छन् ।
आफूहरुले उत्पादन गरेको अण्डाले उचित मूल्य नपाएको र बिचौलिया हाबी भएको भन्दै यहाँका किसानले झापाको बिर्तामोडस्थित मुक्तिचोकमा अण्डा फालेर र कुखुरा छोडेर विरोध प्रदर्शन गरेका हुन् । ३० कार्टुन अण्डा र एक हजार छ सय लेयर्स कुखुरा छोडेर विरोध प्रदर्शन गरिएको वाइफावा पोल्ट्री फर्म मेचीनगर–२ का भरत तामाङले बताउनुभयो ।
“दानाको दाम उच्च छ, अण्डाको मूल्य छैन”, उहाँले भन्नुभयो, “ठूलो लगानी गरेर उत्पादन गरेको अण्डाले मूल्य नपाएपछि बाध्य भएर विरोध स्वरुप फालेका हौं ।” पाँच हजार कुखुरा पाल्दै आउनुभएका तामाङकै फर्मबाट एक हजार छ सय कुखुरा सडकमा छोडिएको हो ।
“एक करोडभन्दा बढी लगानी कुखुरा पालनमै गरिसकेँ”, उहाँले भन्नुभयो, “दानाको दाम उच्च, बजारमा जान सकेको छैन, बैंकको ब्याज तिर्न सक्ने अवस्था भइसक्यो ।” दमक, मेचीनगर, भद्रपुर, अर्जुनधारा लगायतका स्थानका करिब ५० वटा भन्दा बढी र्फमका किसानले विरोध प्रदर्शन गरेका हुन् ।
किसानको उत्पादनमा बिचौलियाले फाइदा लुट्दा किसानमा मारमा परेको भद्रपुर–७ का मोहन खरेलले बताउनुभयो । “बिचौलियालाई नबेच्दा उत्पादन बिक्री हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “नबेचन्दा पनि उपाय छैन ।”
अग्रीम भुक्तानी गरेर फ्याक्ट्रीबाट दाना किन्दा प्रतिबोरा रू तीन हजार दुई पर्ने गरेको तर बाहिर डिलरबाट किन्दा रू तीन हजार चार सय पर्ने शिवसताक्षीका अण्डा उत्पादक किसान पवन कटुवालले बताउनुभयो । “अग्रिम पैसा तिरेर एकै पटक दाना किन्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “बाहिर डिलरबाट किन्दा महँगो पर्छ ।”
एउटा अण्डाको उत्पादन लागत करिब आठदेखि साढे आठ रुपैयाँ पर्ने किसान बताउँछन् । बिक्री मूल्य रू. १० भन्दा कम छ । तर, बजारमा हाल १२ रुपैयाँ ५० पैसा प्रतिगोटा अण्डा बिक्री भइरहेको छ ।
निरज किराना पसल भद्रपुर–८ की बिना न्यौपालेले एक कार्टुन (२१० वटा) अण्डा बिक्री गर्दा एकदेखि डेढ सय रुपैयाँ फाइदा हुने बताउनुभयो । “हामीलाई अण्डामा धेरै फाइदा छैन, एकै पटकमा बिक्दैन पनि”, उहाँ भन्नुभयो, “अण्डा बेच्न ल्याउनेले एउटै कार्टुनमा पाँचसय रुपैयाँ फाइदा खान्छन् ।” आफूले सोझै फर्ममा अण्डा किन्न जान्दा बिचौलियाले भन्दा पनि बढी दाम भन्ने गरेको गुसानो गर्नुभयो ।
कुखुराको दानाको दाम उच्च भएको, उत्पादित अण्डाको बजार नभएको र बैंको ब्याज तिर्न सक्ने अवस्था नरहेको किसानको गुसानो छ । उनीहरुले बैंकले चौमासिक ब्याज लिनुपर्ने, ब्याजमा अनुदान दिनुपर्ने, बैंकले पुनःकर्जा दिनुपर्ने लगायतको माग राखेका छन् । बैंकले फकाएर ऋण दिएको तर अहिले असज अवस्था सिर्जना हुँदा थर्काउने गरेको किसानको गुनासो छ । झापामा एक सयवटा फर्मबाट दैनिक एक सय कार्टुन (३० हजार) अण्डा उत्पादन हुँदै आएको छ ।