माघे संक्रान्ति आउनै लाग्दा काठमाडौंको टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले यस दिन अन्य समयभन्दा बढी खपत हुने गर्दछ ।
टोखाका उद्योगमा हाल सादा, मसला र स्पेसल चाकु तथा सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुस्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
यस बर्ष चाकुको माग अनुसार उत्पादन बढाउन गारो भएको टोखाका उद्यमी न्हुँच्छे नारायण श्रेष्ठले बताउँछन् । उनले धेरै बर्षदेखि नै यही पेशामा अंगालेको भन्दै यसपाली पहिलाको भन्दा बढी व्यापार भइरहेको बताए ।
उनले भने, ‘चाकुको व्यापार यसपाली विगतभन्दा धेरै भईरहेको छ । माग अनुसारको काम गर्न नै समय पुगिरहेको छैन् । राम्रो व्यापार भइरहेको छ । यो पहिलादेखि नै हाम्रो बाबुबाजेहरुले गर्दै आउनुभएको पेशा हो ।’
यस्तै, सोही स्थानका व्यापारी मनदेवी जोशीले पनि टोखाको चाकु स्वास्थ्यका हिसाबले र सुत्केरीहरुको लागि पनि उपयोगी मानिएकाले चर्चा पाएकाले यसपाली पहिलाभन्दा राम्रो व्यापार भएको बताए ।
उनले भने, ‘टोखाको चाकु पहिलादेखि नै चर्चामा आएको हो । चाकुले स्वास्थ्यको लागि राम्रो गर्ने र सुत्केरी अवस्थामा पनि खान मिल्ने भएकाले सबैको मनपनि पराउनु भएको छ । यसको माग पनि धेरै आएको छ । पहिलाको सालभन्दा पनि धेरै राम्रो व्यापार भइरहेको छ । धेरै राम्रो हुदैँ गएको छ ।’
टोखामा उत्पादन भएको चाकु काठमाडौं उपत्यकामा मात्र नभई नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहर बजारसहित विदेशसमेत निर्यात हुने गरेको छ । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ ।
माघे संक्रान्ति सामाजिक, आर्थिक, समाज र स्वास्थ्य सबै दृष्टिले महत्वपूर्ण मानिन्छ । माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व भएकाले जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । माघे संक्रातिको साइनो खानपानसँग जोडिएको छ । यस दिन तरुल, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । यसले जाडोमा शरीरलाई न्यानो दिलाउनका लागि खानपान उपयोगी मान्ने गरिन्छ ।
माघ १ गतेका दिन विभिन्न नदीका घाटहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड हुने गर्छ । नवलपरासीको देवघाट, सुनसरीको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शंखमुलको बागमती किनार आदी ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो हुने गर्छ ।
यसरी माघी नुहाइसकेपछि तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पाप मोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सीधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पूराणमा उल्लेख गरिएको पाइन्छ ।