काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन महिनामा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ५३ अर्ब ३१ करोड स्वदेश भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि ११.९ प्रतिशत मात्र थियो र रकम रु ४ खर्ब ०८ अर्ब ७७ करोड थियो।
पहिलो महिनामै उत्साहजनक वृद्धि देखिएको छ। साउनमा रेमिट्यान्स २९.९ प्रतिशतले बढेर रु १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो। भदौ महिनामा झनै वृद्धि हुँदै रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर रु ३ खर्ब ५२ अर्ब ८ करोड कायम भएको छ।
बाह्य क्षेत्रमा पनि सुधार देखिएको छ। चालु आवको पहिलो त्रैमासमा चालु हिसाब रु २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ। सोही अवधिमा शोधनान्तर रु २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो आवमा चालु हिसाब रु १ खर्ब १५ अर्ब ३६ करोड र BOP रु १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा थियो।
व्यापार पक्षमा भने घाटा अझै उच्च छ। पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६% ले बढेर रु ७२ अर्ब ७८ करोड पुगेको छ। तर वस्तु आयात १९.८% ले बढेर रु ४ खर्ब ६८ अर्ब ०८ करोड पुग्दा कूल व्यापार घाटा १२.२% ले बढेर रु ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ।



















