बुद्धशान्ति । बुधबारेको सीतारमेश बहुमुखी क्याम्पसले आफ्नो ११ औं क्याम्पस सभा सम्पन्न गरेको छ। क्याम्पसलाई विभिन्न कालखण्डमा जग्गा, चन्दा र जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो।
क्याम्पसले जग्गादाता खुरहरी निरौला र नर्मदा निरौला सहित अन्य १४ जना र ३ वटा संघ सँस्थालाई सम्मान गरेको हो।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पदमप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं प्रमुख अतिथी रहेका थिए।
पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद खतिवडा,सञ्चारकर्मी चन्द्र भण्डारी एवं मेचि बहुमुखी क्याम्पस प्रमुख जिवन पौडेल बिशिस्ट अतिथिको रूपमा रहेका थिए।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मनोज प्रसाईंले पालिका भित्रको शैक्षिक गतिविधि सुधार्न काम भइरहेको बताएका छन्।
उनले सबै सामुदायिक बिद्यालयलाई स्कुल बसका लागी पहल भइरहेको पनि उल्लेख गरे।
उनले समय अनुकुल शिक्षा र शैक्षिक वातावरणका लागी स्थानीय सरकार, विद्यालय,शिक्षक, विद्यार्थी र अभिभावक पनि जिम्मेवार भएर लाग्न अनुरोध गरेका छन् ।
गाउँपालिकाले प्राबिधिक शिक्षालाई उच्च प्राथमिकतामा राखी आवश्यक गृहकार्य गरिरहेको भन्दै उनले निकट भविष्यमै भूगोल र बजार अध्ययन गरी पालिका हाताभित्रै प्राविधिक शिक्षाको ब्यवस्था गर्ने समेत उल्लेख गरेका छन्।
गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका बिशिष्ट अतिथी भवानीप्रसाद खतिवडाले कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पसले गरेको प्रगतिको प्रशंसा गरेका थिए।
उनले क्याम्पसमा विद्यार्थीको बढ्दो दर, नतिजामा देखिएको सुधार र भौतिक प्रगतिको प्रशंसा गर्दै शुभकामना दिएका थिए।
सञ्चारकर्मी एवं कार्यक्रमका अर्का बिशिष्ट अतिथि चन्द्र भण्डारीले समय अनुसार पाठ्यक्रम बिकासमा जोड दिनुपर्ने बताए।
कला,साहित्य, शिक्षा र मौलिकतामा गरिएको लगानी नै वास्तविक बिकास हुने बताउँदै भण्डारीले मानवीय चेत नै सभ्यताको जग हुने उल्लेख गरे।
कार्यक्रममा क्याम्पस प्रमुख पुष्प रिजालले आर्थिक बर्ष ७८-७९को प्रतिबेदन पढी सामाजिक लेखा परिक्षण गराएका थिए भने कार्यक्रमको संचालन निवर्तमान क्याम्पस प्रमुख केशव ढुङ्गेलले गरेका थिए।
कार्यक्रममा क्याम्पसमा बिभिन्न शैक्षिक बर्षमा उत्कृष्टता हासिल गरेका बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो।