काठमाडौं – व्यवसायी तथा राजतन्त्र समर्थक अभियन्ता दुर्गा प्रसाईले सरकारद्वारा आफूलाई गिरफ्तार गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्ने योजना भइरहेको गम्भीर आरोप लगाएका छन्।
प्रसाईले सामाजिक सञ्जालमार्फत सरकार आफ्नो आन्दोलनबाट भयभीत भएर यस्तो कदम चाल्न लागेको दाबी गरेका छन्। उनका अनुसार, फागुन २५ गते हुन लागेको राजावादी शक्ति प्रदर्शनलाई दबाउन सरकारले झुटा मुद्दा लगाई आफूलाई पक्राउ गर्ने तयारी गरिरहेको छ।

उनले “म गिरफ्तार भए पनि आन्दोलन रोकिने छैन“ भन्दै राष्ट्रवादी नागरिकहरूलाई फागुन २५ गतेको प्रदर्शनमा व्यापक रूपमा सहभागी हुन आह्वान गरेका छन्। प्रसाईले सरकारलाई चेतावनी दिँदै भने, “देश बेचुवा सरकारलाई सत्ता च्युत गर्न” यो प्रदर्शन निर्णायक बन्नेछ।
हालसम्म सरकारको तर्फबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। तर, फागुन २५ को प्रदर्शनले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्याउने आँकलन गरिएको छ।