काठमाडौंमा बिहीबार दुई समूहले गरेका प्रदर्शनमा जम्मा १६ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएको सुरक्षा निकायले आंकलन गरेको छ । सुरक्षा निकाय स्रोतका अनुसार बल्खुमा आयोजित दुर्गा प्रसाईको कार्यक्रममा ९ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए ।
यस्तै, महेश बस्नेतको कार्यक्रममा ७ हजारभन्दा बढी सहभागी भए । एमालेका युवा विद्यार्थीहरुको प्रदर्शन शान्तिपूर्ण र व्यवस्थित देखिएको थियो भने दुर्गा प्रसाईको प्रदर्शन नेतृत्वविहीन अराजक देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
एमालेका युवा विद्यार्थीको प्रदर्शनमा भने विभिन्न जनवर्गीय संगठन र पार्टीका सम्पर्क मन्चहरुले आ आफ्नो कमिटीमा आबद्ध कार्यकर्ताको हाजिरीसहित व्यवस्थित गरेकाले कसैले पनि कमाण्डबाहिर गएर अवान्छित गतिविधि गर्न पाएनन् । युवा संघको प्रदर्शनमा १० हजारजतिको संख्यामा सहभागी भए पनि भाषण शुरु हुँदा ठूलै संख्या हाजिरी जनाएर बाहिरिइसकेको थियो ।



















