काठमाडौं— हाल देशभर आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भू-भागका एक-दुई स्थानमा पनि यस्तै खालको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायूको प्रभाव सक्रिय रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको मौसमविद्हरूले जनाएका छन्।



















