- समिक्षा कडरिया रिजाल
तीज नेपालमा हिन्दु महिलाहरूको प्रमुख पर्व हो, जसलाई धार्मिक आस्था, सांस्कृतिक पहिचान र महिला सशक्तिकरणसँग प्रत्यक्ष रूपमा जोडिएको पाइन्छ। पुराणअनुसार देवी पार्वतीले भगवान् शिवलाई पाउन १०८ वर्षसम्म कठिन तपस्या गरेकी थिइन् र अन्ततः शिवसँग विवाह भएको स्मरणमा तीज व्रतको परम्परा सुरु भएको मानिन्छ। त्यसैकारण विवाहित महिलाले पतिको दीर्घायु र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्ने, अविवाहित महिलाले उत्तम पति प्राप्तिको कामना गर्ने चलन रहेको छ।
परम्परागत रूपमा तीज पर्व व्रत बस्ने, देवी देवताको पूजा गर्ने, रातो साडी र हरियो चुरा धारण गर्ने, सामूहिक नाचगान गर्ने, र तीज अघिल्लो दिन दर खाने प्रथामा आधारित रहँदै आएको छ। यसले नारीलाई धार्मिकता, सामाजिक एकता र सामूहिक सहकार्यमा बाँध्ने काम गर्थ्यो।
तर पछिल्ला दुई दशकयता तीज मनाउने शैलीमा ठूलो परिवर्तन आएको देखिन्छ। दर खाने प्रथा अहिले तीज अघिल्लो दिनमा मात्र सीमित नभई एक महिना अगाडिदेखि सुरु हुने गरेको छ। व्यस्त जीवनशैलीका कारण परिवार, आफन्त र साथीभाइसँग मेलमिलाप गर्ने अवसरका रूपमा धेरैले यसलाई सकारात्मक रूपमा लिन्छन्। तर यसैसँगै सामाजिक सञ्जालको लोकप्रियताले तीजलाई देखावटीपनतर्फ धकेल्दै लगेको आलोचना पनि बढ्दो छ।
फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता प्लेटफर्ममा तीजका नृत्य, फोटोसुट र भिडियो अपलोड गर्ने प्रतिस्पर्धाले भक्ति र आध्यात्मिकताभन्दा बढी प्रदर्शनमुखी संस्कृतिलाई बढावा दिएको छ।
विद्वान्हरूका अनुसार दर खानेको अवधि महिनाभर लम्बिनु धार्मिक संस्कारसँग मेल खाँदैन। कतिपय अवस्थामा अश्लीलता मिसिएको नृत्य, विकृत गीत–संगीत र अत्यधिक खर्चिला पार्टीका दृश्यहरूले मौलिक तीजको स्वरूप नै धमिल्याएको छ। यसले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, कतै तीज मौलिकता गुमाएर विकृतिको प्रतीक त बन्दै छैन?
तर यति मात्र पनि होइन। सकारात्मक दृष्टिले हेर्दा, तीजले महिलालाई आफ्नो विचार अभिव्यक्त गर्ने, सामाजिक सम्बन्ध विस्तार गर्ने र आत्मविश्वास बढाउने अवसर दिएको छ। महिला अधिकारकर्मी सुनीता दाहाल भन्छिन्, “तीज महिलाको आत्म–पहिचान अभिव्यक्त गर्ने र सामूहिक रूपमा आफ्नो आवाज बुलन्द गर्ने अवसर पनि हो। यो संस्कार मात्र नभई सामाजिक चेतनाको पर्व पनि हो।”
निष्कर्षमा भन्नुपर्दा, समय परिवर्तनशील छ र संस्कृतिले पनि परिवर्तनलाई अँगाल्नु स्वाभाविक हो। तर परिवर्तनले संस्कृतिको मौलिकता र परम्परागत मूल्यलाई विस्थापित गर्नु हुँदैन। तीजलाई प्रदर्शन र उपभोगको पर्व बनाउने होइन, आस्था, संस्कृतिको धरोहर र नारी सशक्तिकरणको पर्वका रूपमा जोगाउन सक्ने जिम्मेवारी आजकै पुस्ताको काँधमा छ।



















