न जागिर, न बैंक ब्यालेन्स: तैपनि सुखी जीवन!

मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत देखाउनुपर्ने थियो । जागीर उहाँले खानुभएन, नो भनेर लेख्न पर्यो । कुनै व्यवसाय दर्ता छैन, त्यो पनि नो नै भयो । पेन्सन या अन्य नियमित आम्दानी भन्ने कोलम थियो । त्यहाँ पनि केही नभएको लेखियो ! आमासँग ब्याङ्क ब्यालेन्स या फिक्स्ड डिपोजिट पनि थिएन ।

लेख्दा लेख्दै आफै झसङ्ग भइयो । न जागीर छ, न व्यवसाय छ, न पेन्सन छ, न कुनै नियमित आयस्रोत छ ! तैपनि मान्छे बाँचेको छ ! यसरी कहिल्यै आफैलाई नियालिएको रहेनछ ! पश्चिमी नजरले हेर्दा यो अचम्मजस्तै हुने रहेछ ! जिन्दगीभर जागीर र व्यापार नगरी पनि मान्छे बाँच्न सक्ने रहेछन् । त्यो पनि फेरि हरितन्नम जीवन होइन । आमाले बाँचेको जीवन सम्पन्न वाला नभए पनि ठीकठाकै थियो !

EPIC EPIC EPIC EPIC EPIC

पेशामा केही त लेख्न पर्ने थियो । फार्मर भन्ने शीर्षक रहेछ । त्यो मिल्नेजस्तो लाग्यो र टिक लगाइयो । अरू केही उपति नभएको मान्छेलाई किसान भन्ने मानसिकता रहेछ हाम्रो । फार्मर त भनियो तर फार्म नै छैन !पाँच कट्ठाको लालपूर्जा पनि छैन । एकडेढ़ कट्ठाको घरघडेरीबाहेक अर्को जग्गा छैन । बेलायतमा त्यति जग्गालाई Courtyard या Patio अर्थात् करेसाबारी भनिने रहेछ । मध्यम खालका फार्मसँग पनि २-३ सय बिघा जति जमीन, दुई तीन वटा ट्ऱ्याक्टर, आठदश वटा घोड़ा, केही दर्जन भेडा, केही सय गाई र अन्य उपकरण हुने रहेछन् । तीसित अनुदान लिएको, मलखाद किनेको या कर तिरेको विवरण हुने रहेछ । आमा त नाममात्रैको फार्मर ! दूध र आलु पनि किनेर खाने फार्मर ! मल त किन्छु भने पनि पाइन्न देशमा, बिउबिजन या कृषि सामग्री किनेको बिल पनि आमासँग हुने कुरो भएन । हाट बजारबाट दुई तीन वटा घिरौंलाको बिरुवा किनेर ‘फार्मर’ पुष्टि गर्न सकिएन ।

भिजिट भिसा भएकाले अब फर्किने आधार प्रस्तुत गर्नुपर्ने थियो । जागीर, व्यवसाय या पेन्सनलाई फर्किने बलियो आधार मानिन्छ, जुन थिएन । घरमा रेखदेख गर्नुपर्ने नाबालक या परनिर्भर कोही छन् भन्ने एउटा प्रश्न पनि हुन्छ ! भए त रेखदेख गर्न फर्किन्छ भन्ने त्यसको आशय होला । आमासँग त्यो पनि थिएन । छोरो ममात्रै । एउटी छोरी, त्यो पनि विवाहित भएकाले यताको नजरमा कोर परिवारभित्र नपर्ने । अब त्यस्तो नाबालिग भए नै पनि कमाइ नै नभएको मान्छेले झन् कसरी रेखदेख गर्ला भन्ने होला ! जागिर नखानुभएको बुबा त सँगै आवेदक हुनुहुन्थ्यो !

कहिल्यै कतै घुम्ने बानी र अवस्था पनि हाम्रो थिएन । भारत घुमे पनि पासपोर्टमा छाप हुँदैन, अन्त गएको छैन । कुनै एउटा इन्डिकेटर पनि हरियो नदेखिने !

झट्ट हेर्दै कति कमजोर जस्तो केस देखिने रहेछ ! एकछिन आफैलाई इमिग्रेशन अफिसरको ठाउँमा राखेर हेरेँ । मै भए पनि के गर्थेँ होला जस्तो लाग्ने ! त्यो भिसा फर्मले आमालाई लाचार, गरिब र असहाय पो देखायो ! जुन कत्ति सत्य होइन !

देशको मध्यम वर्गभित्र परे पनि भिसा आवेदन गर्दै गर्दा निम्नतम गरिबीको रेखाभन्दा धेरै तल देखिने रहेछौं हामी । युरोपमा पूर्ण सरकारी सहयोगबिना यस्तो अवस्थामा बाँच्ने कल्पना गर्न सकिन्न । कागज हेर्दा यो भनेको सड़कमा आइपुग्ने अवस्था हो । एक जनाको मात्रै जागीरले पनि परिवार बाँच्न सक्दैन । हामीकहाँ त चार जनाको परिवार बिनाजागीर बाँचेको थियो ! सरकारी स्कुल नै सही, जेनतेन शिक्षादेखि स्वास्थ्यसम्मको खर्च बेहोरेकै थियो । दशैँतिहार, चाडपर्व, बिहेबर्तुन र पाहुनापासो पनि झेलेकै थियो । त्यो खर्च कताबाट आउँथ्यो त भन्ने पुष्टि गर्न कुनै ब्याङ्क स्टेटमेन्ट भने छैन । खासमा ब्याङ्क एकाउन्ट नै थिएन । एकाउन्टबिना नै मान्छे कसरी बाँच्दो हो ? अहिले बाँच्नेलाई नै अचम्म लाग्छ होला । अझ जागीर र एकाउन्ट नभएको मान्छेले स्थानीय अस्पतालदेखि स्कुलसम्म बनाउन चन्दा दिन्थे भन्यो भने हास्य जस्तो सुनिन्छ !

हामी धेरैले बाँचेको जीवन कागजमा पुष्टि गर्न सकिने खालको नहुने रहेछ । बेलायतमा पढेको र राम्रै जागीर खाएको मान्छेले पनि दशबीस हजार पाउण्ड जोगाएर घरको डिपोजिट गर्न ठूलै सङ्घर्ष गर्नुपर्छ तर कुनै जागीर नभएको मध्यम वर्गीय नेपालीले छोरो अमेरिका पठाउन पर्दा दशबीस लाख रुपियाँ जुटाउन सक्छ ! अझ पढाइ र जागिर दुबै नभएको हजुरबुबाले आफै घर बनाउनुहुन्थ्यो र त्यहाँ तीन पुस्ता सँगै अटाउँथ्यो भन्दा आश्चर्य हुने रहेछ । धनी र गरिब छुट्याउने शास्त्र हामीमा ठ्याक़्कै लागू नहुने रहेछ !

हामीलाई सानो लाग्ला तर एउटाले जागीर खाएर तीन जना पालिन सक्छन् भने त्यो जागीर निकै ठूलो हो ! सानो होला, खरले छाएको होला तर घरको लालपूर्जा आफ्नै नाममा छ र मासिक किस्ता छैन भने त्यो सम्पन्नता नै हो ! ठूलो फार्म नहोला तर दैनिक उपभोग्य तरकारी र दूध घरमैँ उब्जन्छ भने त्यो अर्ग्यानिक समृद्धि हो ! खाएर, खुवाएर मर्दा पर्दा समाजलाई दिन पनि पुग्छ भने धनी जीवन त्यही हो ! अलिकति नगद र स्वास्थ्य सुविधा थप्न सक्ने हो भने स्वर्ग त्यही हो !

यो सत्य हो कि माथिको अवस्थाभन्दा पनि तल अझै ठूलो जनसङ्ख्या छ हामीसँग । कर्णालीदेखि तराईका घनाबस्तीसम्म वर्गीय खाड़ल अझै विकराल छ । गर्न धेरै बाँकी छ । ऐतिहासिक विभेद, किनारीकरण र असमानताहरूलाई सम्बोधन गर्न बाँकी छ । तर त्यो वर्ग त भिसा अफिससम्म पुगेकै छैन । काठमाडौं जाने र होटलमा बस्ने पैसा तीसँग छैन र तिनलाई ऋण दिने संस्था पनि छैन । जो जति सम्पन्न छ, ऋण उसैले पाउने हो ! तीसँग यो स्ट्याटस पढ्न मिल्ने मोबाइल र डेटा पनि छैन । यो कथा तिनको होइन ।

तर जसले देशमा वातावरण भएन भनेर, अवसर भएन भनेर, बाध्य भइयो भनेर, भैंसी पाल्ने पनि कुनै काम हो र भनेर एअरपोर्टको बाटो हुँदै पखेटा हालेका छन्, तीमध्ये धेरैले स्वर्ग चिन्न बाँकी नै छ ! यो त्यही वर्गको सर्ग हो ! यो मजस्तै महरूको कथा हो !

आफ्नै नाभीमा रहेको कस्तूरीको गन्ध खोज्दै आजीवन दौडिरहने कस्तूरी त भएका छैनौं हामी ? –नारायण गाउँले

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *