दिपेन्द्र लुइटेल
पालिका संदेश । भोजपुरको हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भैइरहेको कावा खोलाको पुल शनिबार ढलेको छ ।
पाँच करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न मिल्ने गरि बनाउन लागिएको छ ।
पुलको डिजाइन अवधी ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधकले बताएको भएपनि पुल निर्माणको क्रममा ढलेको छ ।
निर्माणका क्रममा लापरबाही गरेको र कम गुणस्तरको सामग्री प्रयोग गरेकोले पुल ढलेको स्थानीयले आरोप लगाएको छन् । निर्माण कम्पनीका ठेकेदार तथा प्राविधिक भने जिल्ला बहिर रहेकाले सम्पर्क हुन सकेको छैन ।
पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुुरले जनाएको छ ।
यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई ओटा गरी १० ओटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।
भोजपुरलाई उत्तर– दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माण कै चरण ढलेपछि स्थानीय निराश बनेका छन् ।